जनकपुरधाम, १२ चैत । जिल्ला प्रशासन कार्यालय धनुषाले रामनवमीको अवसरमा आयोजना गरिने शोभायात्रा, बाइक र्‍याली तथा सार्वजनिक प्रदर्शन नगर्न निर्देशन दिएपछि धार्मिक तथा सामाजिक संघसंस्थाहरूले त्यसप्रति आपत्ति जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा जारी पत्रअनुसार जिल्ला सुरक्षा समितिको बैठकले हालको अवस्थालाई मध्यनजर गर्दै कुनै पनि संघसंस्था वा निकायलाई सभा, जुलुस, र्‍याली र प्रदर्शन गर्न अनुमति दिन उपयुक्त नहुने निष्कर्ष निकालेको हो ।

सोही निर्णयका आधारमा प्रशासनले चैत १३ गते पर्ने रामनवमीका दिन शोभायात्रा तथा बाइक र्‍याली जस्ता कार्यक्रम नगर्न/नगराउन निर्देशन दिएको जनाएको छ ।

यता, राष्ट्रिय एकता दल धनुषाले प्रशासनको उक्त निर्णयप्रति आपत्ति जनाउँदै अस्वीकार गर्ने घोषणा गरेको छ । दलका प्रदेश इन्चार्ज मनिष पुर्वेले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानले दिएको धार्मिक स्वतन्त्रताको अधिकारमाथि हस्तक्षेप भएको भन्दै यस्तो निर्णय असंवैधानिक र पक्षपातपूर्ण भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा रामनवमीको शोभायात्रा तथा धार्मिक कार्यक्रमहरू शान्तिपूर्ण रूपमा आयोजना गरिने स्पष्ट पार्दै प्रशासनको निर्णयले धार्मिक अधिकार खोस्न नसक्ने चेतावनी दिइएको छ । साथै, कार्यक्रम सञ्चालनमा अवरोध भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिनुपर्ने उल्लेख गरिएको छ ।

यसअघि राष्ट्रिय एकता दलले जनकपुरधाम–२३ बिन्धीबाट सुरु हुने शोभायात्रा नगर परिक्रमा गर्दै जानकी मन्दिर परिसरमा समापन गर्ने कार्यक्रमका लागि प्रशासनसँग सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो ।

त्यस्तै, हिन्दू सम्राट नेपाल धनुषा जिल्ला कार्य समितिले पनि छुट्टै निवेदनमार्फत लक्ष्मीनिया क्षेत्रबाट सुरु हुने शोभायात्राका लागि अनुमति र सुरक्षा व्यवस्थापन माग गरेको थियो । उक्त संगठनले विभिन्न स्थान हुँदै जानकी मन्दिरसम्म पुग्ने रुट तय गरिएको जानकारी गराएको थियो ।