जनकपुरधाम, १२ चैत । मधेश प्रदेशमा विकास योजनाहरूको कार्यान्वयन प्रक्रियामा हुने कथित ‘चिठ्ठी बेचबिखन’ र अनियमितताविरुद्ध युवाहरूले कडा चेतावनी दिएका छन् ।

सचेत युवाहरूको समूहले सार्वजनिक अपिल जारी गर्दै यस वर्ष कुनै पनि हालतमा योजनाको नाममा हुने आर्थिक चलखेल स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

युवाहरूले मुख्यमन्त्रीदेखि मन्त्री, कर्मचारी र स्वकीय सचिवसम्मको संलग्नतामा यदि पैसा उठाएर योजना वितरण गरिएको प्रमाण फेला परेमा त्यसविरुद्ध कडा प्रतिवाद गरिने चेतावनी दिएका हुन् ।

उनीहरूले यस्तो कार्यलाई सीधै भ्रष्टाचारको रूपमा परिभाषित गर्दै दोषी जोसुकै भए पनि भौतिक कारबाहीसहित कानुनी प्रक्रियामा लैजान आफूहरू तयार रहेको चेतावनी दिए ।

सार्वजनिक सूचनामार्फत युवाहरूले भनेका छन्, ‘हामी अब मौन बस्ने अवस्थामा छैनौं । जनताको करबाट आउने बजेटलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति अब सहन सकिँदैन । यदि कुनै पनि तहमा रकम लिएर योजना बाँडफाँट भएको पाइयो भने त्यसको प्रतिकार सशक्त रूपमा गरिनेछ ।’

उनीहरूले विगतका वर्षहरूमा योजनाको पारदर्शितामा प्रश्न उठ्दै आएको स्मरण गराउँदै यसपटक त्यसलाई रोक्न युवाहरू नै अग्रमोर्चामा उत्रिने बताएका छन् ।

‘हामी सचेत युवा हौं, अन्याय र भ्रष्टाचारविरुद्ध डटेर उभिनेछौं,’ सूचनामा उल्लेख छ ।

युवाहरूले मधेश प्रदेशलाई समस्याको रूपमा चित्रण गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाएका छन् । उनीहरूले मधेशलाई शक्ति र सम्भावनाको केन्द्रका रूपमा प्रस्तुत गर्दै विकास र सुशासनको दिशामा अघि बढ्न सबैलाई आह्वान गरे ।

स्थानीय तहदेखि प्रदेश सरकारसम्म योजना छनोट र कार्यान्वयनमा पारदर्शिता, उत्तरदायित्व र जनसहभागिता सुनिश्चित गर्नुपर्ने माग गर्दै युवाहरूले सम्बन्धित निकायलाई सचेत गराएका छन् । साथै, कुनै पनि प्रकारको अनियमितता भएमा त्यसको प्रमाण संकलन गरी सार्वजनिक गर्ने र आवश्यक परे सडक आन्दोलनसम्म गर्ने चेतावनीसमेत दिएका छन् ।