जनकपुरधाम, १२ चैत । जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत सञ्चालन भइरहेको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षाको चौथो दिन बिहीबार पनि परीक्षा मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको छ ।

परीक्षा समिति अध्यक्षसमेत रहेका नगर प्रमुख मनोजकुमार साहको नेतृत्वमा विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गरिएको हो ।

अनुगमन टोलीमा शिक्षा समितिका सदस्यहरू तथा एनप्याब्सन नगर अध्यक्ष दीपक कुमार ठाकुर र शिक्षा समिति सदस्य फूल कुमारीको सहभागिता रहेको थियो ।

टोलीले परीक्षा केन्द्रहरूमा पुगेर परीक्षा सञ्चालनको अवस्था, अनुशासन, व्यवस्थापन तथा पारदर्शिताको विषयमा निरीक्षण गरेको जनाएको छ ।

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नगर प्रमुख साहले परीक्षा निष्पक्ष, व्यवस्थित र अनुशासित बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘विद्यार्थीहरूको भविष्यसँग जोडिएको यस्तो महत्वपूर्ण परीक्षामा कुनै किसिमको लापरबाही सह्य हुँदैन । हामी निष्पक्षता र अनुशासनमा कुनै सम्झौता गर्दैनौं ।’

उनले शिक्षक, कर्मचारी तथा सम्बन्धित सबै पक्षलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्दै परीक्षा प्रणालीप्रति अभिभावक र विद्यार्थीको विश्वास कायम राख्नु आवश्यक रहेको उल्लेख गरे ।

यसैबीच, परीक्षालाई व्यवस्थित बनाउन सुरक्षासहित आवश्यक व्यवस्थापन मिलाइएको र अनुगमन कार्यलाई निरन्तरता दिइने जनाइएको छ । उपमहानगरपालिका अन्तर्गतका सबै परीक्षा केन्द्रहरूमा शान्त र अनुशासित वातावरणमा परीक्षा सञ्चालन भइरहेको सम्बन्धित निकायले जनाएको छ ।

उपमहानगरपालिकाले सम्पूर्ण परीक्षार्थीलाई सफलताको शुभकामना व्यक्त गर्दै इमान्दारीपूर्वक परीक्षा दिन आग्रह गरेको छ ।