मैथिलीमै शपथ: मौलिक पहिचान झल्काउँदै प्रतिनिधिसभा सदस्य उज्ज्वल झा

जनकपुरधाम, १२ चैत । प्रतिनिधिसभा सदस्य उज्ज्वल कुमार झाले मिथिला मधेशको मौलिक पहिचानलाई प्राथमिकता दिँदै पारम्परिक पहिरनमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
संघीय संसदमा बिहीबार आयोजित शपथ ग्रहण समारोहमा उनले धोती, कुर्ता र गम्छा लगाएर उपस्थित भई आफ्नो मातृभाषा मैथिलीमा शपथ लिएका हुन् ।
उनको यस कदमलाई सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनको रूपमा हेरिएको छ ।

मधेश तथा मिथिला क्षेत्रको परम्परागत भेषभूषा र भाषा प्रयोग गर्दै गरिएको शपथले स्थानीय पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न योगदान पुग्ने विश्वास गरिएको छ ।
सामाजिक सञ्जालदेखि जनस्तरसम्म उनको यस कदमप्रति सकारात्मक प्रतिक्रिया व्यक्त भइरहेका छन् ।
यसअघि पनि विभिन्न अवसरहरूमा आफ्नो सांस्कृतिक पहिचानलाई उजागर गर्दै आएका झाको पछिल्लो कदमले मौलिकता र भाषिक विविधताको सम्मान गर्नुपर्ने देखिएको छ ।


