गोलबजारका एक व्यवसायी तीन दिनदेखि बेपत्ता

सिरहा, १२ चैत । सिरहाको गोलबजारका एक व्यवसायी तीन दिनदेखि रहस्यमय रूपमा बेपत्ता भएका छन् ।
गोलबजार नगरपालिका–४ निवासी रामनारायण साह मंगलबार बिहान घरबाट लहान जान्छु भन्दै निस्किएपछि सम्पर्कविहीन बनेका हुन् ।
परिवारका अनुसार घरबाट निस्किएपछि करिब दिउँसो १ बजे उनले छोरीलाई फोन गरी मोबाइलमा एक सय रुपैयाँ रिचार्ज हाल्न आग्रह गरेका थिए । त्यसको केही समयपछि उनको मोबाइल बन्द भएको र त्यसयता कुनै सम्पर्क नभएको बताइएको छ ।
साह गोलबजारस्थित जेम्स स्कुलका संस्थापक तथा प्रिन्सिपल हुनुका साथै ‘नेहा मनी ट्रान्सफर’का सञ्चालक समेत हुन् । नियमित रूपमा मोटरसाइकल प्रयोग गर्ने उनी सो दिन भने बसमार्फत लहानतर्फ गएको जानकारी परिवारले दिएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय गोलबजारमा उनकी जेठी छोरी नेहाकुमारी साहले खोजतलासका लागि निवेदन दिएकी छन् । प्रहरी निरीक्षक सुदन केसीका अनुसार निवेदन प्राप्त भएसँगै खोजी कार्य तीव्र पारिएको छ ।
प्रहरीका अनुसार बुधबार उनको मोबाइलको अन्तिम लोकेशन खजुरी क्षेत्रमा देखिएको छ । यसले घटनालाई थप रहस्यमय बनाएको छ ।
परिवारले भने व्यवसायिक लेनदेनसँग सम्बन्धित विवाद हुन सक्ने आशंका व्यक्त गरेको छ । छोरी नेहा साहका अनुसार पछिल्लो समय उनका बुबा फोनमा कसैसँग चर्को स्वरमा कुरा गर्ने गरेको सुन्ने गरिएको थियो ।
उनले भनिन्, ‘मनी ट्रान्सफरको रकमसम्बन्धी विवाद भइरहेको जस्तो सुनिएको थियो । तर, कससँग भन्ने स्पष्ट छैन । बुबाले आफैं मिलाउँदै आउनुहुन्थ्यो ।’
यसैबीच, घटना भएको दिन दुई जना हिन्दी भाषामा बोल्ने युवकहरू विद्यालयमा आएर साहको फोन नम्बर लिएर गएको र त्यसपछि धम्कीपूर्ण फोनहरू आएको परिवारको दाबी छ ।
परिवारले आफन्त तथा चिनेजानेका सबै ठाउँमा खोजी गरिसकेको जनाएको छ भने जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाको विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


