जनकपुरधाम, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नवनिर्वाचित सांसद मनिष झाले नेपालको लोकतान्त्रिक यात्रालाई अब तीव्र गतिमा अघि बढाउनुपर्ने बताएका छन् ।

सांसद झा शपथ ग्रहणका लागि सिंहदरबार पुगेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले नेपालको राजनीति र अर्थतन्त्रलाई गति दिन अबको कार्यकाल चुनौतीपूर्ण र निर्णायक हुने उल्लेख गरे ।

विगत ६६ वर्षको लोकतान्त्रिक अभ्यासलाई स्मरण गर्दै उनले आगामी केही वर्षमै दशकौँको उपलब्धि हासिल गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।

‘अब म्याराथनको गतिले पुग्दैन, हामी १०० मिटर दौडजस्तो तीव्र गतिमा अघि बढ्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘यो कार्यकालले आगामी दुई–तीन दशक बराबरको प्रगति दिनेगरी काम गर्नुपर्छ ।’

झाले विश्व राजनीतिमा देखिएको तीव्र परिवर्तन र आर्थिक प्रतिस्पर्धाको सन्दर्भ उल्लेख गर्दै नेपालले पनि आफ्नो गति बढाउनुको विकल्प नरहेको बताए । उनले सुस्त गतिले अब देश अघि बढ्न नसक्ने स्पष्ट पारे ।

निर्वाचनमा मतदाताबाट प्राप्त समर्थनलाई जिम्मेवारीका रूपमा लिएको बताउँदै उनले जनताको विश्वासलाई परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता जनाए ।

‘मतदाताले मन र मत दुवै दिएका छन्, त्यसलाई निराशामा बदल्न दिँदैनौँ,’ उनले भने ।

उनले अबको संसद् र सरकार दुवैले जनअपेक्षाअनुसार तीव्र र प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए ।