हराएका सीमा स्तम्भ पुनःनिर्माण गर्ने सहमति

जनकपुरधाम, १० चैत । मधेश प्रदेशका जिल्लाहरूमा नेपाल–भारत सीमारेखा स्पष्ट बनाउन हराएका सीमा स्तम्भहरू पुनःनिर्माण गर्ने सहमति भएको छ ।
भारतको विहार राज्य अन्तर्गत रक्सौलमा मंगलबार सम्पन्न नेपाल–भारत संयुक्त बैठकले हराएका तथा क्षतिग्रस्त सीमा स्तम्भहरूको पहिचान गरी दुवै देशको सहमतिमा पुनःनिर्माण गर्ने निर्णय गरेको हो ।
बैठकमा मधेश प्रदेशका आठ जिल्लासहित चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नापी तथा भवन निर्माण डिभिजन कार्यालयका प्रतिनिधिहरू सहभागी थिए ।
भारतीय पक्षबाट पूर्वी चम्पारन जिल्लाका जिल्ला अधिकारीसहित सुरक्षा तथा सर्वेक्षण निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार २०७६ सालपछि पहिलोपटक बसेको यस बैठकले सीमा व्यवस्थापनलाई व्यवस्थित र स्पष्ट बनाउन महत्त्वपूर्ण निर्णय गरेको हो ।
हराएका सीमा स्तम्भहरूको यकिन गरी दुवै देशका प्राविधिक र सुरक्षा टोलीको समन्वयमा छिट्टै पुनःनिर्माण प्रक्रिया अघि बढाइने सहमति भएको उनले बताए ।
मधेश प्रदेशका आठ जिल्लामा नेपाल–भारत सीमालाई छुट्याउन साना–ठूला गरी कुल ५ हजार ३ सय १२ सीमा स्तम्भ रहेका छन् । त्यसमध्ये ४ सय ८५ ठूला आकारका छन् । समयक्रममा केही स्तम्भ हराएका वा क्षतिग्रस्त भएका कारण सीमा स्पष्टतामा समस्या देखिँदै आएको थियो ।
बैठकमा नेपाली पक्षको नेतृत्व सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गरेका थिए भने भारतीय पक्षको नेतृत्व पूर्वी चम्पारन जिल्लाका जिल्ला अधिकारीले गरेका थिए ।
दुवै देशबीचको समन्वयमा सीमा स्तम्भ पुनःस्थापना भएपछि सीमा व्यवस्थापन थप प्रभावकारी हुने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


