जनकपुरधाम, १० चैत । धनुषाको मिथिला नगरपालिका–७ स्थित मानवबस्ती नजिकै जङ्गली चितुवा देखिएपछि स्थानीयमा त्रास फैलिएको छ । मंगलबार बिहान करिब १० बजेतिर एक्लेबरस्थित विक्रम थिङको घर अगाडि चितुवा देखिएको जनाइएको छ ।

वडाध्यक्ष रामबहादुर स्याङ्दनका अनुसार केही दिनअघि पनि सोही क्षेत्रमा चितुवाले एउटा बाख्रा खाएको र अर्को बाख्रालाई घाइते बनाएको थियो । जङ्गल नजिकै रहेको बस्तीमा पटक पटक चितुवा देखिन थालेपछि स्थानीयवासी डराएर बस्न बाध्य भएका छन् ।

घटनाबारे जानकारी पाएलगत्तै डिभिजन वन कार्यालय धनुषालाई सूचित गरिएको वडाध्यक्ष स्याङ्दनले बताए । उनका अनुसार चितुवाको गतिविधि बढेपछि विशेष सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरिएको छ ।

डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले उक्त क्षेत्रमा गस्ती टोली परिचालन गरिएको जानकारी दिए । उनले चितुवाको निगरानी भइरहेको उल्लेख गर्दै स्थानीयलाई एक्लै जङ्गलतर्फ नजान, बालबालिकालाई निगरानीमा राख्न तथा पशुचौपायालाई सुरक्षित स्थानमा राख्न आग्रह गरेका छन् ।

बस्ती नजिकै जङ्गली जनावर देखिन थालेपछि मानव–वन्यजन्तु द्वन्द्व बढ्ने खतरा रहेको भन्दै स्थानीयले सम्बन्धित निकायसँग तत्काल प्रभावकारी नियन्त्रण र सुरक्षाको माग गरेका छन् ।