जनकपुरधाम, १० चैत । आगामी चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि मधेश प्रदेशमा तयारी तीव्र पारिएको छ । यस वर्ष प्रदेशभरबाट ८७ हजार ५९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका अनुसार परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन प्रदेशभर २९९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ती केन्द्रहरूमा एक हजार ३१६ विद्यालयका विद्यार्थी सहभागी हुनेछन् ।

परीक्षा सञ्चालनलाई प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापनसमेत व्यापक रूपमा गरिएको छ । निर्देशनालयका अनुसार २९९ जना केन्द्राध्यक्ष, ४३३ जना सहायक केन्द्राध्यक्ष, चार हजार २३५ जना निरीक्षक, ७३४ जना परीक्षा सहायक तथा एक हजार ६०३ जना कार्यालय सहयोगी परिचालन गरिनेछ । साथै, सुरक्षाको दृष्टिले चार हजार ४८५ जना सुरक्षाकर्मी खटाइने व्यवस्था गरिएको छ ।

जिल्लागत विवरणअनुसार धनुषा जिल्ला बाट सबैभन्दा बढी १३ हजार २६२ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । यहाँका २०३ विद्यालयका विद्यार्थी एसइईमा बस्नेछन् । यता, सबैभन्दा कम सहभागी सप्तरी जिल्लाबाट रहेका छन् । सप्तरीबाट १६२ विद्यालयका नौ हजार २७६ विद्यार्थीले परीक्षा दिनेछन् ।

सिरहा जिल्लाबाट ११ हजार ३८, महोत्तरी जिल्लाबाट ११ हजार ३५१, सर्लाही जिल्लाबाट ११ हजार ३७१, रौतहट जिल्लाबाट नौ हजार ७७७, बारा जिल्लाबाट १० हजार ८१३ तथा पर्सा जिल्लाबाट १० हजार ७०३ विद्यार्थी सहभागी हुनेछन् ।

निर्देशनालयको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष सहभागी विद्यार्थीको संख्या घटेको छ । गत वर्ष ८८ हजार ८५८ विद्यार्थी एसइईमा सहभागी भएका थिए भने यस वर्ष एक हजार २६७ जना कम भएका छन् ।

शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक महेन्द्र महतोका अनुसार परीक्षाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । उनले परीक्षा मर्यादित, अनुशासित र निष्पक्ष बनाउन आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिमार्फत नियमित अनुगमन गरिने बताए ।

त्यस्तै, मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्र लगायतका निकायको समन्वयमा प्रदेशस्तरीय अनुगमन टोली गठन गरी परीक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाइने तयारी गरिएको पनि निर्देशक महतोले जानकारी दिए ।

प्रदेशभर उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको र कुनै पनि किसिमको अनियमितता हुन नदिन कडा निगरानी गरिने सम्बन्धित निकायले जनाएको छ ।