महोत्तरी, १० चैत । महोत्तरीको जलेश्वरस्थित एक होटलमा प्रहरीले छापा मारेर यौनधन्दामा संलग्न रहेको आरोपमा होटल सञ्चालिकासहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले प्राप्त गोप्य सूचनाका आधारमा आइतबार दिउँसो जलेश्वर नगरपालिका–२ मटिहानी चोक नजिक सञ्चालित कोइराला होटल तथा लजमा छापा मारेको थियो ।

छापामार कारबाहीका क्रममा प्रहरीले होटलका विभिन्न कोठामा दुई पीडित महिला र दुई भारतीय नागरिकलाई आपत्तिजनक अवस्थामा फेला पारेको जनाएको छ । कोठाहरूको खानतलासी गर्दा प्रयोग गरिएका तथा प्रयोग गर्न बाँकी अस्थायी सामग्रीहरू छरपष्ट अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूमा भारत मधवापुरका २८ वर्षीय र मधुवनीका ३६ वर्षीय पुरुष रहेका छन् । यस्तै, जलेश्वर–२ का ६० वर्षीय एक पुरुष र ४५ वर्षीया होटल सञ्चालिकालाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार होटल सञ्चालिकाले महिलाहरूलाई प्रलोभनमा पारेर जबरजस्ती यौनधन्दामा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उद्धार गरिएका महिलाहरूलाई आवश्यक संरक्षणमा राखी थप प्रक्रिया अघि बढाइएको छ ।

पक्राउ परेका चारै जनामाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरी महोत्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र कुमार भट्टले जानकारी दिए ।