सिरहा, १० चैत । सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा भएका तीन छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार लहान नगरपालिका–८ का दिलीप साह र उनकी श्रीमती सुनिता साहलाई तीन जना महिलालाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ गरिएको हो । दुवै जनाविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

त्यसैगरी, लहान–३ स्थित अस्पताल चोकमा रहेको अनलाइन होटल एन्ड लजकी सञ्चालिका ४० वर्षीया अर्चनाकुमारी चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले चार महिलालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोप छ ।

यस कार्यमा सप्तरी सुरुङ्गा–९ टिकुलियाका २१ वर्षीय अशोककुमार चौधरी, २० वर्षीय नितिककुमार चौधरी र १९ वर्षीय आकाश चौधरीको समेत संलग्नता रहेको प्रहरीको भनाइ छ । यस घटनामा संलग्न चारै जनामाथि सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यस्तै, धनगढीमाई नगरपालिका–११ स्थित खुश्बु होटल एन्ड लजका सञ्चालक ३४ वर्षीय गुज्जेश्वर साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले दुई महिलालाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोप छ । यसमा सप्तरी बलानबिहुल–६ का ३८ वर्षीय शिवकुमार यादवको समेत संलग्नता रहेको जनाइएको छ । यी दुवै जनामाथि पनि सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

प्रहरीले सबै घटनाका पीडित महिलाको पहिचान गोप्य राख्दै ‘साङ्केतिक नाम’ प्रयोग गरी कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ । पछिल्लो समय होटल तथा निजी घर प्रयोग गरी यस्ता अवैध गतिविधि बढ्दै गएको सूचनाका आधारमा जिल्लाभर निगरानी कडा पारिएको डीएसपी पालले जानकारी दिए ।