जनकपुरधाम, १० चैत । गर्मी याम सुरु भएसँगै चुरे क्षेत्रमा डढेलोको जोखिम बढ्न थालेपछि मिथिला वाइल्डलाइफ ट्रस्ट धनुषाले सक्रियता बढाएको छ ।

ट्रस्टले धनुषाको भटिघारी चुरे सामुदायिक वन क्षेत्रमा विभिन्न स्थानमा क्यामेरा ट्र्याप जडान गरी वन्यजन्तु तथा वनभित्र हुने गतिविधिको निगरानी सुरु गरेको जनाएको छ ।

ट्रस्टका अध्यक्ष देवनारायण मण्डलका अनुसार क्यामेरा ट्र्यापमार्फत वन्यजन्तुको गतिविधि, व्यवहार तथा वन क्षेत्रमा हुने असामान्य गतिविधिको अध्ययन गरिनेछ ।

‘यसले वन्यजन्तुको संरक्षणमा मात्र नभई डढेलो जस्ता सम्भावित जोखिमको समयमै पहिचान गर्न पनि महत्वपूर्ण सहयोग पुर्‍याउँछ,’ उनले भने ।

उनका अनुसार सुक्खा मौसममा सानो लापरवाहीले पनि ठूलो क्षति निम्त्याउन सक्ने भएकाले स्थानीय समुदाय र वन उपभोक्ताहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

‘वन क्षेत्रमा आगलागी हुन सक्ने गतिविधि नगर्नुहोस्, कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउनुहोस्,’ मण्डलले अपिल गरे ।

ट्रस्टले जडान गरेका क्यामेरा ट्र्यापहरू अनुसन्धानको उद्देश्यले राखिएको बताउँदै यदि कसैले फेला पारेमा नजिकैको सामुदायिक वन उपभोक्ता समूह, वन कार्यालय वा प्रहरी कार्यालयमा बुझाइदिन वा ट्रस्टसँग सम्पर्क गर्न मण्डलले अनुरोध गरे ।

मिथिला वाइल्डलाइफ ट्रस्टले पछिल्लो समय चुरे क्षेत्रमा वन्यजन्तु संरक्षण र डढेलो नियन्त्रणका लागि विभिन्न सचेतनामूलक तथा प्रविधिमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ ।