जनकपुरधाममा चैती छठको रौनक, आज अस्ताउँदो सूर्यलाई अर्घ्य

जनकपुरधाम, १० चैत । मधेश प्रदेशका विभिन्न जिल्लासहित जनकपुरधाममा आज श्रद्धा र आस्थाका साथ चैती छठ पर्व मनाइँदै छ ।
चार दिनसम्म कडाइका साथ व्रत बस्ने परम्पराअनुसार आज षष्ठी तिथिमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गर्दैछन् ।
जनकपुरधामस्थित गंगासागर र अंग अंगराज सरमा विशेष तयारी गरिएको छ ।
छठ पर्वलाई लक्षित गर्दै दुवै स्थानलाई आकर्षक ढंगले सजाइएको छ भने सरसफाइ, सुरक्षा र व्यवस्थापनमा स्थानीय निकाय सक्रिय देखिएका छन् । व्रतालुहरू बिहानदेखि नै घाट क्षेत्रमा पुगेर पूजा–आराधनामा जुटेका छन् ।
छठ पर्वअन्तर्गत आज साँझ सूर्य अस्ताउनुभन्दा केही समयअघि व्रतालुहरू जलाशयमा प्रवेश गरी षष्ठी माताको आराधना गर्दै सूर्यदेवलाई अर्घ्य दिने परम्परा छ ।
अर्घ्यका लागि ठेकुवा, भुसुवा, उखु, केरा, नरिवल, मुला लगायतका सामग्री प्रसादस्वरूप चढाइन्छ ।
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि चैती छठ विधिवत् समापन हुने धार्मिक मान्यता छ । व्रतालुहरूले आज रातभर जाग्राम बसेर पूजा गर्ने परम्परा पनि रहेको छ ।
कात्तिक महिनामा मनाइने छठ पर्वको तुलनामा चैती छठमा सहभागीको संख्या कम हुने भए पनि पछिल्ला वर्षहरूमा यसको लोकप्रियता क्रमशः बढ्दै गएको छ ।
धार्मिक विश्वासअनुसार यस पर्वले मनोकांक्षा पूरा हुनुका साथै विभिन्न रोगबाट मुक्ति दिलाउने जनविश्वास रहँदै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


