-ज्योति झा
९ चैत ।
बिहानको १० बज्न नपाउँदै मोटरसाइकल स्टार्ट हुन्छ । मोबाइलमा आएको ‘पठाओ’को नोटिफिकेशनसँगै सुरु हुन्छ यादव केसीको दिनचर्या । साँझ ७ बजेसम्म यात्रु बोकेर शहरका गल्ली–गल्ली घुम्नु उनको दैनिकी बनिसकेको छ । यो रोजगारी उनको जीवन धान्ने बाध्यता हो ।

२५ वर्षीय यादव ललितपुरका स्थायी बासिन्दा हुन् । कमजोर आर्थिक अवस्थाका कारण उनले उच्च शिक्षा हासिल गर्न सकेनन् । ‘जसो तसो एसएलसी त दिएँ,’ उनी भन्छन्, ‘तर, एसएलसी गरेर कहाँ काम पाइन्छ र?’

उनको स्वरमा गुनासोभन्दा पनि यथार्थ स्वीकारेको भाव झल्कियो ।

परिवारको जिम्मेवारी काँधमा आएपछि उनले बेरोजगार बस्नुभन्दा केही गर्ने निर्णय गरे । त्यसैले अहिले उनी भाडाको बाइक चलाउँदै राइड–सेयरिङ प्लेटफर्ममा आबद्ध छन् । दिनभर यात्रु ओसारपसार गरेर कमाएको आम्दानीले घरखर्च धान्ने प्रयास गरिरहेका छन् उनी ।

‘यो मेरो बाध्यता हो, रहर होइन,’ उनी हल्का हाँसोसहित भन्छन् ।

तर, यादवको संघर्ष सडकमा मात्र सीमित छैन । बिहान र बेलुका उनी आफ्नै सानो पसलमा पनि बस्छन् । दिनभरको थकानपछि पसल सम्हाल्नु उनको अर्को जिम्मेवारी हो ।

‘जीवन र दिनचर्या यस्तै हो मेरो त,’ उनी सहज रूपमा भन्छन् ।

यादवजस्तै काठमाडौंका सडकमा अर्को व्यक्तिको कथा पनि सँगसँगै दौडिरहेको छ । तर, त्यो कथा एक फरक पुस्ताको हो ।

५१ वर्षीय विकास बिहानको खाना सकेपछि नियमित रूपमा आफ्नो स्कुटी लिएर घरबाट निस्किन्छन् । स्वयम्भु क्षेत्रको अपोजिट साइडमा उभिएर ‘सिंगल ट्री’ जाने यात्रु खोज्नु उनको दैनिक तालिका बनिसकेको छ ।

पहिले जस्तो घरमै बस्ने बानी उनले त्यागिसकेका छन् । ‘घर बस्नु भन्दा केही आम्दानी गर्नु राम्रो,’ उनी भन्छन् ।

पठाओ, इनड्राइभ र याङगो जस्ता राइड–सेयरिङ प्लेटफर्मसँग आबद्ध भएर काम गर्दै आएका विकास स्वयम्भुबाट ‘सिंगल ट्री’ सम्मको यात्राका लागि १०० रुपैयाँ लिन्छन् । दिनको आम्दानी कहिले ६०० रुपैयाँ हुन्छ भने राम्रो दिनमा १५०० रुपैयाँसम्म पुग्छ ।

उनका लागि यो आम्दानी पैसाको कुरा मात्र नभई आत्मनिर्भरता र सम्मानसँग जोडिएको विषय हो । ‘सन्तानमाथि निर्भर हुनु भन्दा आफ्नै पेट आफैं पाल्नु राम्रो,’ उनी भन्छन् ।

उनका छोराछोरी आ–आफ्नो परिवार र जिम्मेवारीमा व्यस्त छन् ।उनीहरूका लागि बोझ बन्नु आफूलाई स्वीकार्य नभएको विकास बताउँछन् ।

‘म र मेरी श्रीमतीको खर्च म आफैं उठाउँछु । यसले मलाई खुसी दिन्छ । व्यस्त पनि हुन्छु, कसैसँग हात फैलाउनु पर्दैन ।’

यादव र विकास दुई फरक उमेर र फरक अवस्थाक भएपनि उनीहरूको संघर्षको गन्तव्य एउटै छ । एकातिर युवावस्थामा भविष्यको खोजीमा दौडिरहेको यादव छन् भने अर्कोतिर जीवनको उत्तरार्धमा पनि आत्मसम्मान जोगाउँदै श्रम गरिरहेका विकास छन् ।

यादवको चिन्ता भविष्यलाई लिएर छ । बढ्दो महँगी, सीमित आम्दानी र परिवारको जिम्मेवारीले उनलाई नयाँ विकल्प खोज्न बाध्य बनाइरहेको छ ।

‘यसरी त केही हुने जस्तो लाग्दैन,’ उनी भन्छन्, ‘या त विदेश जान्छु, या अलि पैसा जुटाएर आफ्नै पसल खोल्छु ।’

उनका यी शब्दहरू व्यक्तिगत सपना मात्र नभई देशका हजारौं युवाको साझा कथा हुन् ।

त्यसैगरी, विकासका शब्दहरू जीवनको गहिरो अनुभवबाट आएका छन् ।

‘जबसम्म बाँचिन्छ, आफ्नो खर्च आफैं व्यहोर्नु राम्रो । अहिले कसैमाथि बोझ बन्नु भनेको जीवन अभिशाप जस्तै हो ।’

काठमाडौंका व्यस्त सडकमा गुडिरहेका यी बाइक र स्कुटीहरू यात्रु मात्र बोकिरहेका छैनन् । यीसँगै दौडिरहेका छन् सपना, संघर्ष र आत्मनिर्भर बन्ने दृढ इच्छाशक्ति ।

युवादेखि ज्येष्ठसम्म श्रमको सम्मान गर्दै जीवन अघि बढाउने यी पात्रहरू आजको शहरी समाजका जीवित उदाहरण हुन् । उनीहरूको कथा रोजगारीको कथा मात्र नभई आत्मसम्मान, जिम्मेवारी र आशाको कथा हो ।