जनकपुरधाम, ९ चैत । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न खेलहरूमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

वर्षाका कारण शुरुवाती दुई खेल प्रभावित बनेको प्रतियोगितामा सोमबार भने दुवै खेल प्रतिस्पर्धात्मक र रोचक बने ।

जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशमाथि १४८ रनको फराकिलो जित हात पार्‍यो ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा २४९ रन बनाउँदै २५० रनको चुनौती प्रस्तुत गरेको थियो । लुम्बिनीका कप्तान देव खनालले उत्कृष्ट ९२ रन बनाए भने सन्तोष यादवले ४८ रनको महत्वपूर्ण योगदान दिए ।

जवाफमा कोशी प्रदेश ३१.४ ओभरमै १०१ रनमा अलआउट भयो । कोशीका लागि अंकित सुवेदीले सर्वाधिक ३० रन बनाए पनि अन्य ब्याट्सम्यान टिक्न सकेनन् ।

बलिङतर्फ लुम्बिनीका सन्तोष यादवले ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । उनलाई राजेन्द्र बलमेले ३, निर्मल गुरुङले २ र सन्देश थापाले १ विकेट लिए । अलराउण्ड प्रदर्शनका लागि सन्तोष यादव ‘म्यान अफ द म्याच’ घोषित भए ।

यसैगरी, पर्साको वीरगञ्जस्थित नारायणी रंगशालामा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्‍यो ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली ३२ ओभरमा ११९ रनमा समेटियो । कर्णालीका विपिन रावलले ३३ र सुनिल धमलाले २८ रन बनाए ।

कर्णालीका हेमन्त धामीले उत्कृष्ट बलिङ गर्दै ७ ओभरमा मात्र १६ रन खर्चेर ६ विकेट लिएर सुदूरपश्चिमलाई दबाबमा राखेका थिए । तर, १२० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

किरण ढगुन्नाले २६ र खडक बोहोराले २३ रन बनाए । अन्त्यतिर मिलन बोहोरा (१८) र शेर (१०) नटआउट रहँदै टोलीलाई जित दिलाए ।

कर्णालीका अनुज चनारा र दिवान पुनले समान २–२ विकेट लिए । उत्कृष्ट बलिङ प्रदर्शनका लागि हेमन्त धामी ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगितामा वर्षाले प्रारम्भिक दुई खेल प्रभावित बनाए पनि सोमबारका खेलले प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएको छ ।