मोटरसाइकल मर्मतको बिल विवादले लियो हिंसात्मक रूप, ६ जनाविरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा

सिरहा, ९ चैत । सिरहामा मोटरसाइकल मर्मतको बिल भुक्तानीको विषयमा सुरु भएको सामान्य विवादले हिंसात्मक रूप लिँदा ६ जनाविरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दायर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–१२ का २५ वर्षीय आरिफ मियाँ, ५० वर्षीय करिया मियाँ, २० वर्षीय अरमान मियाँ, ३४ वर्षीय हासिम मियाँ, ३० वर्षीय बक्कर मियाँ र २४ वर्षीय नइम दफालीविरुद्ध उक्त अभियोगमा मुद्दा दायर गरिएको हो ।
प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालले दिएको जानकारीअनुसार घटनामा संलग्नमध्ये आरिफ मियाँ प्रहरी नियन्त्रणमा रहेका छन् भने अन्य आरोपितहरू फरार रहेकाले खोजी कार्य तीव्र पारिएको छ । सबै आरोपितहरू एउटै वडाका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
गत ६ चैतमा सिरहा नगरपालिका–१२ सारर्श्वर क्षेत्रमा स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच मोटरसाइकल मर्मतको बिल भुक्तानीको विषयमा विवाद उत्पन्न भएको थियो । प्रारम्भिक भनाभन पछि विवाद चर्किँदै जाँदा दुबै पक्षबीच कुटाकुट भएको प्रहरीले जनाएको छ ।
घटनामा सलमान पक्षका ४ जना र हासिम पक्षका २ जना गरी ६ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको उपचार अझै जारी रहेको छ भने अन्यले प्रादेशिक अस्पताल सिरहामा उपचार गराएर घर फर्किसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र फरार आरोपितहरूलाई शीघ्र पक्राउ गर्ने प्रयास जारी रहेको बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


