सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

जनकपुरधाम, ९ चैत । मधेश प्रदेशका पूर्व राज्यमन्त्री तथा निलम्बित सांसद सरोज कुमार सिंहविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ सोमबार स्थगित गरिएको छ । सरकारी वकिलको आग्रहमा मुद्दाको पेसी सारिएको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि मुद्दा पेश भए पनि बहस सुरु हुन नपाउँदै स्थगित भएको अदालत स्रोतले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार उपभोक्ता समितिको खातामा जम्मा भएको रकम स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत निकालेर सिंहले आफ्नै र श्रीमतीको संयुक्त खातामा राखी हिनामिना गरेको आरोप छ ।
उक्त मुद्दामा सिंहसँगै रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगिन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीलाई पनि प्रतिवादी बनाइएको छ ।
अदालतले अब अर्को पेसी तोकेर सुनुवाइ अगाडि बढाउने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


