जनकपुरधाम, ९ चैत । जनकपुरधाममा लामो समयदेखि जारी फुटपाथ अतिक्रमणविरुद्ध प्रदेश सरकारले कडा कदम चाल्दै प्रमुख बजार क्षेत्रहरू खाली गराएको छ ।

सर्वसाधारणको आवागमनमा अवरोध पुर्‍याउँदै आएका सडकपेटी व्यवसायहरू हटाइएपछि नगर क्षेत्र केही हदसम्म व्यवस्थित देखिन थालेको छ ।

मधेश प्रदेशका गृहमन्त्री फकिरा महतोको नेतृत्वमा सञ्चालन गरिएको अभियानअन्तर्गत रामानन्द चोक, प्रादेशिक अस्पताल जाने सडक, जानकी मन्दिर आसपास, राम मन्दिर क्षेत्र तथा जनक चोकलगायत स्थानका फुटपाथ खाली गराइएको हो ।

अभियानका क्रममा गृहमन्त्री महतोले धार्मिक तथा सांस्कृतिक दृष्टिले संवेदनशील क्षेत्रहरूमा अव्यवस्थित व्यापार सञ्चालनले नगरको सौन्दर्य मात्र नभई आम नागरिकको दैनिक जीवनसमेत प्रभावित भएको बताए । उनले फुटपाथ पुनः कब्जा गर्ने प्रयास गरेमा कडा कानुनी कारबाही गरिने चेतावनी दिए ।

यसअघि जनकपुरधाम उपमहानगरपालिकाले पटक पटक सूचना जारी गर्दै फुटपाथ खाली गर्न आग्रह गरे पनि व्यवसायीहरूले अटेर गर्दै आएका थिए । त्यसपछि प्रदेश सरकार स्वयं सक्रिय भएर संयुक्त रूपमा अनुगमन तथा कार्यान्वयन थालेको हो ।

अभियानमा जनकपुरधाम उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सलगायत व्यावसायिक संस्थाहरूको पनि समर्थन रहेको जनाइएको छ ।

स्थानीयवासीहरूले लामो समयपछि सडकपेटी खाली भएपछि हिँडडुल गर्न सहज भएको बताए । यद्यपि, केही साना व्यवसायीहरूले वैकल्पिक व्यवस्थाको माग गर्दै आफ्ना समस्या समाधानतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सरकारले भने शहरलाई व्यवस्थित, स्वच्छ र सुरक्षित बनाउन यस्ता अभियान निरन्तर सञ्चालन गरिने जनाएको छ ।