महोत्तरीमा सेवा सुधारदेखि विपद् तयारीसम्म कडाइ: सरकारी निकायलाई ८ बुँदे निर्देशन

महोत्तरी, ९ चैत । जिल्ला प्रशासन कार्यालय महोत्तरीको नेतृत्वमा बसेको समन्वय बैठकले सेवा प्रवाह सुधार, विपद् व्यवस्थापन, पूँजीगत खर्च बढाउनेदेखि लिएर आसन्न एसईई परीक्षा मर्यादित बनाउनसम्मका विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकले सरकारी निकायहरूलाई थप जिम्मेवार, उत्तरदायी र परिणाममुखी बनाउन ८ बुँदे निर्देशन जारी गरेको हो ।
बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र त्रुटीरहित रूपमा सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीप्रति धन्यवाद ज्ञापन गरेको छ ।
निर्वाचन व्यवस्थापनमा कर्मचारीहरूको समन्वय र सक्रियतालाई प्रशंसनीय ठहर गरिएको छ ।
जिल्ला अन्तर्गतका सबै सरकारी कार्यालयहरूबाट प्रदान हुने सेवाहरूलाई छिटो, छरितो, पारदर्शी र गुनासोरहित बनाउन विशेष जोड दिइएको छ ।
कार्यालयमा समयपालना, नियमित उपस्थिति तथा तोकिएको पोशाक अनिवार्य गरिएको छ ।
त्यस्तै, प्रत्येक कार्यालयमा सूचना अधिकारीको व्यवस्था गरी सूचनाको सार्वजनिकरण गर्नुपर्ने, सेवाग्राहीका गुनासा तथा उजुरीलाई तत्काल सम्बोधन गर्नुपर्ने निर्णय गरिएको छ ।
कुनै सेवा कानुनअनुसार दिन नसकिने अवस्था आएमा त्यसबारे सेवाग्राहीलाई तत्काल लिखित जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।
मासिक तथा त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्ने, अभिलेखहरूको डिजिटल भण्डारण गर्ने र सार्वजनिक सुनुवाइ कार्यक्रम नियमित सञ्चालन गर्न पनि निर्देशन दिइएको छ ।
सम्भव भएसम्म ‘टाइम कार्ड’ प्रणालीमार्फत सेवा प्रवाहलाई व्यवस्थित बनाउन पनि जोड दिइएको छ ।
बैठकले गत कार्तिकमा आएको बेमौसमी बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा आगामी बाढीबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । विशेषगरी रातु खोलामा तटबन्ध मर्मत तथा संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।
यसैबीच, हालको मौसमलाई मध्यनजर गर्दै हावाहुरी र आगलागीबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न आपतकालीन औषधि, उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न र आवश्यक पर्दा तुरुन्त परिचालन गर्न सबै निकायलाई निर्देशन दिइएको छ ।
चालु आर्थिक वर्षको अन्तिम समय नजिकिँदै गर्दा स्वीकृत पूँजीगत बजेटको खर्च प्रगति बढाउन सबै कार्यालयलाई कडाइ गरिएको छ ।
आयोजना कार्यान्वयनमा देखिएका स्थानीय विवाद समाधान गर्न कार्यालय प्रमुख स्वयं सक्रिय भई प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्नुपर्ने उल्लेख गरिएको छ ।
निर्माण सामग्री तथा प्राकृतिक स्रोतको आपूर्तिमा समस्या आएमा तत्काल समन्वय गर्नुपर्ने र ‘रुग्ण आयोजना’हरूलाई प्राथमिकताका साथ व्यवस्थापन गर्नुपर्ने निर्णय पनि गरिएको छ । स्थानीय स्तरमै समाधान गर्न सकिने समस्याहरूलाई ढिलाइ नगरी तत्काल समाधान गर्न निर्देशन दिइएको छ ।
आगामी चैत १९ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा, २०८२ लाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन सबै सरोकारवालालाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरिएको छ । परीक्षा केन्द्रहरूको व्यवस्थापनदेखि अनुगमनसम्ममा कडाइ गरिने जनाइएको छ ।
पछिल्लो समय देखिएको पेट्रोलियम पदार्थको आपूर्ति समस्या व्यवस्थापन गर्न प्रशासनले निगरानी बढाउने निर्णय गरेको छ ।
कालोबजारी, कृत्रिम अभाव सिर्जना तथा मिसावटयुक्त र गैरखाद्य सामग्रीको बिक्री वितरणमा संलग्नलाई कानूनी दायरामा ल्याइने चेतावनी दिइएको छ ।
लामखुट्टे लगायत रोग सार्ने किटाणु नियन्त्रण गर्न स्वास्थ्य कार्यालयको नेतृत्वमा सबै स्थानीय तह र स्वास्थ्य संस्थाहरूलाई सक्रिय बनाइने भएको छ । सरसफाइ, सचेतना र रोकथामका उपायहरू व्यापक रूपमा लागू गरिने जनाइएको छ ।
राष्ट्रिय आर्थिक गणना २०८२ लाई सफल बनाउन महोत्तरीमा स्थापना भइसकेको जिल्ला आर्थिक गणना कार्यालयलाई आवश्यक सहयोग गर्न सबै सरकारी तथा गैरसरकारी निकायलाई आग्रह गरिएको छ ।
चैत १ गतेदेखि सुरु भई आगामी असार मसान्तसम्म सञ्चालन हुने उक्त गणनालाई प्रभावकारी बनाउन समन्वयमा जोड दिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


