जनकपुरधाम, ८ चैत । राणा शासनविरुद्ध देशव्यापी रूपमा सञ्चालन भएको प्रजातान्त्रिक आन्दोलनमा जनकपुरको भूमिका महत्वपूर्ण रहे पनि यहाँका धेरै क्रान्तिकारी व्यक्तित्व इतिहासको मूलधारबाट ओझेलमा परेका छन् ।

पत्रकार तथा साहित्यकार नित्यानन्द मण्डलले गरेको एक खोजले जनकपुरका यस्ता दर्जनौँ व्यक्तिहरूको योगदानलाई उजागर गरेको छ ।

मण्डलले सार्वजनिक गरेको विवरणअनुसार राणा शासनको अन्त्यका लागि जनकपुरबाट विभिन्न वर्ग, समुदाय र पेशामा आबद्ध व्यक्तिहरूले आन्दोलनमा सहभागिता जनाएका थिए ।

यस क्रममा महेन्द्र नारायण निधि जस्ता राष्ट्रिय स्तरका नेतासँगै स्थानीय तहका अगुवा कार्यकर्ताहरूको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको देखिन्छ ।

उनको खोजमा रुद्र प्रसाद गिरी, निर्गुण यादव, वोध प्रसाद उपाध्याय, बनारसी महतो, सरोज कोइराला, दिगम्बर झा, शिवजी साह, कमाल हुसेन, जमुना बहादुर कार्की, गोपाल बहादुर कार्की लगायतका थुप्रै नाम समावेश छन् ।

मण्डलले भने, ‘राणा शासनविरुद्धको आन्दोलन काठमाडौँ वा ठूला शहरहरूमा मात्र सीमित थिएन । जनकपुरका किसान, मजदुर, विद्यार्थी र बुद्धिजीवीहरू सबैले आन्दोलनलाई बलियो बनाएका थिए ।’

उनको सूचीमा रामानन्द ठाकुर, रामधनी कापडी, लक्ष्मण साह, रामनारायण प्रसाद मण्डल, हरिनन्दन चौधरी, मस्तान अली हसन, गंगेश्वर झा, युगेश्वर शर्मा, दशरथ मेहतर, महावीर प्रसाद शर्मा, राम सेवक तिवारी लगायतका व्यक्तिहरूको नाम पनि उल्लेख गरिएको छ ।

त्यसैगरी, योग कुमार माथेमा, शम्भुराम माथेमा, रामकृष्ण मण्डल, भैरव प्रसाद उपाध्याय, पुष्प लाल गिरी, प्रमोद कोइराला, सुरेन्द्र बहादुर बस्नेत, गोपाल बहादुर श्रेष्ठ, उदयराज शास्त्री, केशवराज केशरी लगायतका नामहरू पनि समेटिएका छन् ।

मण्डल भन्छन्, ‘इतिहास लेखनमा केन्द्रीय दृष्टिकोण हाबी हुँदा स्थानीय स्तरका योगदानहरू ओझेलमा पर्छन् । यी नामहरू सूची मात्र होइनन्, यिनीहरू त्याग, साहस र संघर्षका प्रतीक हुन् ।’

इतिहासविद्हरूका अनुसार राणा शासन (१८४६–१९५१) को अन्त्यमा यस्ता क्षेत्रीय स्तरका अज्ञात तथा अल्पपरिचित व्यक्तिहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको थियो ।

जनकपुरको यस योगदानलाई पाठ्यक्रम र सार्वजनिक बहसमा समेट्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।