पर्सा, ८ चैत । वीरगञ्ज महानगरपालिका–१० स्थित हरित खेतान बहुमुखी क्याम्पसमा कक्षा–१२ को परीक्षा स्थगित भएपछि विद्यार्थीहरूले आन्दोलन सुरु गरेका छन् ।

आइतबार बिहान प्रिबोर्ड परीक्षा दिन क्याम्पस पुगेका विद्यार्थीहरूले परीक्षा सञ्चालन नभएपछि क्याम्पस गेटमै धर्ना दिएका हुन् ।

परीक्षाका लागि निर्धारित समयमा विद्यार्थीहरू परीक्षा हलमा पुगे पनि शिक्षकहरू अनुपस्थित रहेपछि परीक्षा सञ्चालन हुन सकेन ।

क्याम्पस प्रशासन र शिक्षकबीच केही दिनयता जारी आन्तरिक विवादका कारण परीक्षा प्रभावित भएको बताइएको छ ।

क्याम्पसका एक शिक्षकले नाम नखुलाउने सर्तमा भने, ‘प्रशासन र शिक्षकबीचको विवादका कारण परीक्षा रोकिएको हो । लामो समयदेखि तलब नपाएको विषय पनि मुख्य समस्या हो ।’

परीक्षाको तयारी गरेर आएका विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएपछि आक्रोशित बनेका छन् । उनीहरूले शैक्षिक गतिविधि नियमित गर्न र समस्या तत्काल समाधान गर्न क्याम्पस प्रशासनसँग माग गरेका छन् ।

यस विषयमा क्याम्पस प्रमुख रविन्द्र यादवसँग प्रतिक्रिया लिन खोज्दा उनले तत्काल सञ्चारमाध्यमसँग केही नबोल्ने भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे ।

क्याम्पसको आन्तरिक व्यवस्थापन कमजोर हुँदा त्यसको प्रत्यक्ष असर विद्यार्थीमाथि परेको भन्दै सरोकारवालाहरूले समस्या छिटो समाधान गर्न दबाब बढ्दै गएको छ ।