-श्याम कुमार ठाकुर
सिरहा, ८ चैत ।
सिरहाको मिर्चैया नगरपालिकामा कुपोषण न्यूनीकरण तथा पोषण सुधार गर्ने उद्देश्यले ‘Nutrition For Life (N4L)’ कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ ।

दलित विकास मञ्च (DDF) गोलबजारको आयोजना तथा मिर्चैया नगरपालिकाको समन्वयमा पालिका स्तरीय परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिकाकी उपप्रमुख जिवछी देवी साहको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख श्रवण यादव प्रमुख अतिथिका रूपमा सहभागी भए ।

कार्यक्रममा विभिन्न शाखाका प्रमुखहरू, वडा नं. १ देखि १२ सम्मका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दलित विकास मञ्च सिरहाका कार्यकारी निर्देशक संजय महराले संस्थाको उद्देश्य र गतिविधिबारे जानकारी दिँदै पोषण सुधारका लागि समुदायस्तरमै समन्वयात्मक पहल आवश्यक रहेको बताए ।

कार्यक्रम संयोजक खगेन्द्र विष्टले ‘Nutrition For Life’ कार्यक्रमको अवधारणा, कार्यान्वयन प्रक्रिया तथा अपेक्षित उपलब्धिबारे विस्तृत प्रस्तुति राखेका थिए ।

वक्ताहरूले स्थानीय तहको भूमिकामा जोड दिँदै पोषणमैत्री नीति निर्माण, आवश्यक बजेट विनियोजन, स्वास्थ्य–कृषि समन्वय तथा महिला स्वास्थ्य स्वयंसेविकाको परिचालनमार्फत कुपोषण नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम अन्तर्गत ०–५ वर्षका बालबालिका, गर्भवती तथा सुत्केरी महिला, किशोरी तथा सीमान्तकृत समुदायलाई लक्षित गरी घरघरमा करेसाबारी प्रवर्द्धन, पोषणसम्बन्धी जनचेतना अभिवृद्धि, सन्तुलित आहार प्रवर्द्धन तथा सूक्ष्म पोषक तत्व वितरण जस्ता गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

कार्यक्रमले स्वास्थ्य, कृषि र सामाजिक क्षेत्रबीच समन्वय गर्दै दीगो रूपमा पोषण सुधार गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

सहभागीहरूले यस पहलबाट मिर्चैयामा कुपोषण दर घट्ने, स्थानीय स्तरमै पोषिलो खाद्य उत्पादन बढ्ने तथा समुदायको समग्र स्वास्थ्य अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे ।