रामानन्द चौकदेखि जानकी मन्दिरसम्म फुटपाथ खाली, अटेर गर्नेलाई कारबाहीको चेतावनी

जनकपुरधाम, ८ चैत । जनकपुरधामका व्यस्त सडक किनारमा वर्षौंदेखि कब्जामा रहेको फुटपाथ अतिक्रमण हटाउने अभियानलाई आज थप कडाइका साथ अघि बढाइएको छ ।
मधेश प्रदेशका गृहमन्त्री फकिरा महतोको अगुवाइमा रामानन्द चौकदेखि जानकी मन्दिर क्षेत्रसम्म व्यापक रूपमा फुटपाथ खाली गराइएको हो ।
मन्त्री महतो स्वयं सडकमा उत्रिएर सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरोकारवाला निकायसँगै माइकिङ गर्दै व्यवसायीहरूलाई तत्काल फुटपाथ खाली गर्न निर्देशन दिए ।
अभियानका क्रममा प्रहरी प्रशासन, जनकपुरधाम उद्योग वाणिज्य संघ तथा स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता देखिएको थियो ।
‘फुटपाथ पैदल यात्रुका लागि बनाइएको हो, यसलाई अतिक्रमण गरेर व्यापार गर्नु कानुनविपरीत हो,’ मन्त्री महतोले भने, ‘नियम नमानेर पुनः अतिक्रमण गर्नेहरूलाई अब कारबाही गरिनेछ ।’
उनले राजधानी शहरलाई व्यवस्थित र सुरक्षित बनाउन यस्तो कदम अपरिहार्य भएको स्पष्ट पारे ।
रामानन्द चौकदेखि जानकी मन्दिरसम्मको क्षेत्र जनकपुरधामको सबैभन्दा व्यस्त तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । जानकी मन्दिर आसपास दैनिक ठूलो संख्यामा श्रद्धालु तथा पर्यटकको आवागमन हुने भएकाले फुटपाथ अतिक्रमणले पैदल यात्रुहरूलाई गम्भीर समस्या निम्त्याउँदै आएको थियो ।
अभियान अन्तर्गत टोलीले सडक किनारमा अस्थायी रूपमा सञ्चालन भइरहेका पसल, ठेला तथा संरचनाहरू हटाउँदै फुटपाथ खाली गराएको छ । साथै, माइकिङमार्फत आगामी दिनमा पनि अतिक्रमण नगर्न चेतावनी दिइएको छ ।
मन्त्री महतोले फुटपाथ व्यवसायीहरूलाई वैकल्पिक स्थानको रूपमा रंगभूमी मैदानमा सर्न आग्रह गर्दै त्यहाँ व्यवस्थित रूपमा व्यापार सञ्चालन गर्न सकिने बताए ।
‘हामी कसैको रोजगारी खोस्न खोजिरहेका छैनौं । तर, शहर व्यवस्थापन पनि उत्तिकै आवश्यक छ,’ उनले भने ।

स्थानीय प्रशासनका अनुसार फुटपाथ अतिक्रमणका कारण ट्राफिक व्यवस्थापनमा अवरोध सिर्जना हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको थियो । साथै, शहरको सौन्दर्यमा समेत नकारात्मक असर परिरहेको भन्दै अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिने तयारी गरिएको छ ।
मन्त्री महतोले व्यवसायीहरूको गुनासो सुन्दै सबै पक्षसँग छलफल गरी दीर्घकालीन समाधान निकाल्ने प्रतिबद्धता जनाए । ‘व्यवसायी, स्थानीयवासी र प्रशासनबीच सहकार्य गरेर व्यवस्थित जनकपुरधाम निर्माण गरिन्छ,’ उनले भने ।
सरोकारवालाहरूले यस अभियानलाई शहर व्यवस्थापनतर्फको महत्वपूर्ण कदमका रूपमा लिँदै यसको निरन्तरतामा जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


