जनकपुरधाम, ७ चैत । जनकपुरधाम–८ दशरथनगरस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दशरथ मन्दिर अतिक्रमण र अव्यवस्थित गतिविधिका कारण विवादमा तानिएको छ ।

रामायण सर्किट फाउन्डेशनले जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिँदै मन्दिर परिसरभित्र सञ्चालन भइरहेको अवैध अस्पताल तथा दशरथ सरोवरमा गरिएको माछा पालन ठेक्का तुरुन्त रोक्न माग गरेको हो ।

फाउन्डेशनका अध्यक्ष जय प्रकाश साह (पप्पु) र महासचिव दिपेन्द्र कुमार मिश्र (बिरु) द्वारा हस्ताक्षरित निवेदनमा उल्लेख भएअनुसार पौराणिक कालदेखि नै भगवान रामका पिता दशरथसँग सम्बन्धित मानिने उक्त स्थल ऐतिहासिक र धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको छ ।

जनक राजाले स्वागतस्वरूप निर्माण गराएको भनिने दशरथ तलाव र त्यसको पश्चिम–उत्तर कुनामा रहेको मन्दिर अहिले अतिक्रमणको चपेटामा परेको गुनासो गरिएको छ ।

निवेदनमा मन्दिरको उत्तरतर्फ संरचनालाई असर पर्ने गरी सञ्चालनमा रहेको ‘संकट मोचन बाल क्लिनिक’ नामक अस्पताललाई अवैध बताउँदै त्यसलाई हटाउन माग गरिएको छ ।

साथै, पवित्र मानिने दशरथ सरोवरमा माछा पालनका लागि दिइएको ठेक्काले धार्मिक आस्थामाथि चोट पुगेको भन्दै सो कार्य पनि रोक्न प्रशासनसँग आग्रह गरिएको छ ।

फाउन्डेशनले उक्त क्षेत्रलाई पूर्ण रूपमा अतिक्रमणमुक्त गरी ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

स्थानीय सरोकारवालाहरूले समेत धार्मिक स्थलको संरक्षणमा ढिलाइ भएमा दीर्घकालीन क्षति हुने चेतावनी दिएका छन् ।