जनकपुरधाम, ७ चैत । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा विस्तारसँगै मिति र प्रक्रियामा देखिएको असंगतिले सरोकारवालामाझ प्रश्न उठाएको छ ।

अस्पताल अध्यक्षको कार्यकाल २०८२ चैत २३ गते सकिने तय भए पनि चैत ६ गते नै एनआईसीयू सहितका सेवा उद्‌घाटन गरिएको र शिलालेखमा भने २०८२ जेठ ५ गतेको मिति उल्लेख भएको पाइएको छ ।

त्यही दिन बिदाइ कार्यक्रमसमेत राखिएको तथ्यले प्रशासनिक समन्वय र पारदर्शितामाथि बहस सुरु भएको छ ।

अस्पतालले नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) तथा पोस्ट–अपरेटिभ हेरचाह सेवा सुरु गर्नु आफैंमा महत्वपूर्ण उपलब्धि मानिएको छ । यसले क्षेत्रीय स्तरमै नवजात र जटिल अवस्थाका बिरामीलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास गरिएको छ ।

यद्यपि, कार्यक्रमको समय, शिलालेखमा अंकित मिति र बिदाइ कार्यक्रमबीचको असन्तुलनले प्रश्न उब्जाएको छ । अन्तिम दिनमै उद्‌घाटन किन आवश्यक पर्‍यो? मिति फरक–फरक किन परे? र, एउटै समूहको उपस्थितिमा फरक सन्दर्भका कार्यक्रम किन जोडिए?

यस विषयमा टिप्पणी गर्दै चिकित्सक डा. सज्जन ठाकुरले सेवा विस्तारलाई सकारात्मक मान्दै पनि प्रक्रियागत स्पष्टता अपरिहार्य रहेको बताए ।

‘जनताको जीवनसँग प्रत्यक्ष सम्बन्धित सेवा सुरु हुनु स्वागतयोग्य छ । तर, मिति र निर्णय प्रक्रियामा देखिएको असंगतिले पारदर्शिता र उत्तरदायित्वप्रति प्रश्न उठाउँछ,’ उनले भने ।

उनका अनुसार सेवा भावले गरिएको कामप्रति जनता सधैं सकारात्मक हुन्छन् । तर, श्रेय लिने होडबाजी र असंगत निर्णयले विश्वास कमजोर बनाउन सक्छ ।

उद्घाटनभन्दा सेवा महत्वपूर्ण हो । देखावटीभन्दा परिणामले बोल्नुपर्छ,’ठाकुरले भने ।