जनकपुरधाम, ७ चैत । मधेश प्रदेशको धनुषा जिल्लाअन्तर्गत जनकपुरधाम–१४ मुजेलियामा सांसद रुबी कुमारी ठाकुरले गाउँमै पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरेकी छन् ।

समानुपातिक निर्वाचन प्रणालीमार्फत श्रम संस्कृती पार्टीबाट प्रतिनिधित्व गर्दै संसद् पुगेकी ठाकुरले जनतासँग संवाद गर्दै उनीहरूको आशीर्वाद लिएकी हुन् ।

गाउँमा पहिलोपटक सांसदको आगमन भएको भन्दै स्थानीयहरू उत्साहपूर्वक स्वागतमा उत्रिएका थिए । फूलमाला, अबिर र गम्छासहित गरिएको स्वागतले कार्यक्रमलाई उत्सवमय बनाएको थियो ।

आफ्नै क्षेत्रका जनप्रतिनिधि गाउँमै आएको क्षणलाई स्थानीयहरूले विशेष र ऐतिहासिक रूपमा लिएका थिए ।

भेटघाटका क्रममा सांसद ठाकुरले स्थानीय समस्याहरू नजिकबाट सुन्दै ती समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापना गर्दै काम गर्नु आफ्नो प्राथमिकता रहेको बताउँदै उनले विकास निर्माणका कार्यमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरिन् ।

गाउँस्तरसम्म पुगेर जनताको भावना बुझ्ने सांसदको यस पहलप्रति स्थानीयवासीहरूले सकारात्मक प्रतिक्रिया दिए ।

उनीहरूले यस्तो प्रकारको प्रत्यक्ष संवादले जनप्रतिनिधि र जनताबीचको दूरी घटाउने विश्वास व्यक्त गरे ।