संगीत तथा कला पुरस्कारबाट गायक ललित कामत पुरस्कृत

जनकपुरधाम, ७ चैत । शास्त्रीय, लोक तथा आधुनिक गीतसंगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका गायक ललित कामत सम्मानित भएका छन् ।
जनकपुरधाम–२ स्थित श्री आञ्जनेय सेवाश्रमद्वारा आयोजित एक कार्यक्रममा उनलाई ‘संगीत तथा कला पुरस्कार २०८२’ प्रदान गरिएको हो ।
स्वर्गीय पवन कुमार बाजोरियाको स्मृतिमा स्थापित उक्त पुरस्कार गायक कामतलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा मधेश प्रदेशका सभामुख रामअशिष यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने संस्थाकी अध्यक्ष इन्दिरा देवी अग्रवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
पुरस्कार ग्रहण गर्दै गायक कामतले आफूलाई प्राप्त सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै यसले आगामी दिनमा अझ समर्पित भएर संगीत साधनामा लाग्न प्रेरणा मिलेको बताए ।
‘यो सम्मानले मेरो जिम्मेवारी अझ बढाएको छ । संगीतप्रति मेरो लगावलाई निरन्तरता दिँदै समाज र संस्कृतिको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’उनले भने ।
कामतले आफूलाई यो स्थानसम्म पुर्याउन सहयोग गर्ने गुरु, परिवार तथा शुभेच्छुकहरूप्रति विशेष धन्यवाद ज्ञापन गरे । साथै, उनले आयोजक संस्था श्री आञ्जनेय सेवाश्रमप्रति पनि आभार प्रकट गर्दै यस्ता कार्यक्रमले सर्जकलाई हौसला प्रदान गर्ने उल्लेख गरे ।
कार्यक्रममा संयोजक हिमांशु चौधरीले गायक कामतको सांगीतिक योगदानको उच्च मूल्यांकन गर्दै उनलाई पुरस्कारका लागि छनोट गरिएको जानकारी दिएका थिए ।
कार्यक्रममा विभिन्न कलाकार, संगीतप्रेमी तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


