प्रश्नबाट भाग्ने सांसद: पत्रकारमाथि आक्रोश

महोत्तरी, ७ चैत । महोत्तरी निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रमोद महतो पुनः विवादमा तानिएका छन् ।
यसपटक उनको अभिव्यक्ति असन्तुलित मात्र नभई लोकतन्त्रको आधारभूत स्तम्भ मानिने प्रेस स्वतन्त्रतामाथि नै ठाडो चुनौतीका रूपमा उभिएको छ ।
सञ्चारकर्मीहरूले निर्वाचन क्षेत्रभित्र भइरहेका अवैध क्रसर सञ्चालन र खोला उत्खननबारे प्रतिक्रिया लिन खोज्दा सांसद महतो आक्रोशित बनेका छन् ।
जनप्रतिनिधिको हैसियतमा उत्तर दिनुपर्ने ठाउँमा उनले पत्रकारहरूमाथि नै प्रश्न उठाउँदै ‘पहिले स्वतन्त्र नागरिक भएर आउनुस् अनि मात्र प्रश्न गर्नुस’ जस्ता अभिव्यक्ति दिए ।
यो अभिव्यक्ति उनको व्यक्तिगत असन्तुलन नभई जनताको जानकारी पाउने अधिकारमाथि समेत प्रहार भएको ठहरिन्छ ।
लोकतन्त्रमा सञ्चारमाध्यम सरकार र जनप्रतिनिधिलाई जवाफदेही बनाउने प्रमुख संयन्त्र हो । तर, जब जनप्रतिनिधि स्वयंले प्रश्न सोध्ने अधिकारलाई नै अस्वीकार गर्न खोज्छन्, त्यो प्रवृत्ति लोकतन्त्रको मर्मविपरीत हुन्छ ।
सांसद महतोको व्यवहारले ‘सत्ता प्राप्त गरेपछि जवाफदेहिता बिर्सने’ पुरानै रोग पुनः देखिएको टिप्पणी गरिएको छ ।
कान्तिपुर टेलिभिजनका पत्रकार विकास ठाकुरले घटनालाई ‘लोकतान्त्रिक अभ्यासमाथिको ठाडो व्यंग्य’ भन्दै टिप्पणी गरे ।
उनले भने, ‘पत्रकारले प्रश्न सोध्न पनि नागरिकता प्रमाणित गर्नुपर्ने अवस्था आयो भने त्यो स्वतन्त्र प्रेसको नभई नियन्त्रणमुखी सोचको संकेत हो ।’
उनले थपे, ‘क्रसर र उत्खननजस्तो गम्भीर विषयमा जवाफ दिनुको सट्टा विषयवस्तुबाट पन्छिनु र सञ्चारकर्मीमाथि नै प्रश्न उठाउनु सांसद महतोको गैरजिम्मेवारीको चरम रूप हो ।’
स्थानीय तहदेखि केन्द्रसम्म बहसमा रहेको अवैध उत्खननको विषय सांसद महतोसँग प्रत्यक्ष रूपमा जोडिएको आरोपसमेत छ ।
गौशाला नगरपालिकाको निर्णयअनुसार उनकी श्रीमतीको नाममा सञ्चालित एक गिटी तथा बालुवा प्रशोधन केन्द्रले ठूलो परिमाणमा अवैध उत्खनन गरेको पुष्टि भएको थियो ।

सो प्रकरणमा करोडौँ रुपैयाँ जरिवाना तोकिएको र व्यवसाय दर्ता समेत खारेज गरिएको तथ्य सार्वजनिक भइसकेको छ ।
यस्तो पृष्ठभूमिमा उठेका प्रश्नहरूबाट बच्न खोज्दै पत्रकारमाथि नै आक्रामक हुनु ‘उत्तरदायित्वबाट भाग्ने रणनीति’ भएको आरोप लगाइएको छ ।
घटनाप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले कडा आपत्ति जनाएको छ ।
शाखा अध्यक्ष महेशकुमार दासले जनप्रतिनिधिको यस्तो व्यवहार निन्दनीय मात्र नभई लोकतान्त्रिक मूल्यको अवमूल्यन भएको बताए ।
उनले भने, ‘प्रतिनिधि सभा सदस्यजस्तो जिम्मेवार पदमा बसेर प्रश्नको जवाफ दिनुको सट्टा पत्रकारलाई होच्याउनु लोकतन्त्रप्रतिको असम्मान हो ।’
स्थानीय बासिन्दाहरूले पनि सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूका अनुसार, यदि पत्रकारले प्रश्न सोध्दा यस्तो व्यवहार हुन्छ भने सामान्य नागरिकले न्याय र उत्तर कसरी पाउने?
जनताको मतले जितेर आएको प्रतिनिधिले आलोचना सहन नसक्ने हो भने त्यो लोकतन्त्र नभई शक्ति प्रदर्शन मात्र हो ।
यदि यस्तो प्रवृत्ति रोकिएन भने यसले पत्रकारमाथि नभई सम्पूर्ण लोकतान्त्रिक प्रणालीमाथि नै अविश्वास बढाउने चेतावनी सरोकारवालाहरूले दिएका छन् ।

