जनकपुरधाम, ७ चैत । मुखको क्यान्सरबाट पीडित मिथिलाका वरिष्ठ गीतकार, संगीतकार तथा पत्रकार अशोक दत्तको उपचारका लागि आर्थिक सहयोग जुटाउन विभिन्न संघसंस्थाहरू सक्रिय भएका छन् ।

शनिवार मिथिला नाट्यकला परिषदको सभाकक्षमा आयोजित बैठकले दत्तको उपचार सहयोगार्थ च्यारिटी शो आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकमा मैथिली विकास कोष, रंग दर्पण, रामानन्द युवा क्लब, मैथिली साहित्यकार सभा लगायत जनकपुरधामका दुई दर्जनभन्दा बढी कलाकारहरूको सहभागिता रहेको थियो ।

बैठकमा भएको निर्णयअनुसार आगामी चैत २१ गते मैथिली विकास कोषको हलमा च्यारिटी कार्यक्रम आयोजना गरिनेछ ।

उक्त कार्यक्रममा मिथिलाका दर्जनौँ कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन् ।

रंग दर्पणका अध्यक्ष रितेश पट्लीका अनुसार कार्यक्रमबाट संकलित रकम दत्तको उपचारमा खर्च गरिनेछ ।

करिब साढे दुई वर्षदेखि क्यान्सर रोगसँग संघर्षरत दत्त पछिल्लो ६ महिनादेखि आर्थिक अभावका कारण नियमित उपचार र स्वास्थ्य परीक्षणबाट वञ्चित हुँदै आएका छन् ।

चिकित्सकले निरन्तर ‘फलोअप’ र औषधोपचार आवश्यक रहेको सुझाए पनि आर्थिक समस्याका कारण उनले उपचारलाई निरन्तरता दिन सकेका छैनन् ।

दत्तले नियमित परीक्षण र औषधिको अभावले स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको बताए ।

मिथिलाका कलाकार, पत्रकार तथा सांस्कृतिक अभियन्ताहरूले दत्तको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सहयोगका लागि आह्वान गरेका छन् ।

उनीहरूले दत्तले मैथिली भाषा, संस्कृति र सांगीतिक पहिचान प्रवर्द्धनमा पुर्‍याएको योगदान स्मरण गर्दै यस्तो अवस्थामा समाजले साथ दिनुपर्ने बताएका छन् ।

जीवनभर कला र शब्दमार्फत समाजलाई योगदान दिएका दत्त अहिले आफ्नै जीवन रक्षाका लागि संघर्षरत छन् । समयमै सहयोग जुट्न सके मात्र उनको जीवन बचाउन सकिने देखिएको छ ।