जनकपुरधाम उपमहानगरपालिकामा १० कर्मचारीका लागि अन्तर-स्थानीय तह सरुवा आह्वान

जनकपुरधाम, ६ चैत । जनकपुरधाम उपमहानगरपालिकाले विभिन्न पदमा कार्यरत कर्मचारीलाई लक्षित गर्दै अन्तर-स्थानीय तह सरुवाका लागि आवेदन आह्वान गरेको छ ।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार स्वीकृत दरबन्दी तथा संगठन संरचना अनुसार रिक्त रहेका पदहरू पूर्ति गर्न मधेश प्रदेशअन्तर्गतका स्थानीय तहमा कार्यरत कर्मचारीलाई सरुवा सहमतिका लागि निवेदन दिन आग्रह गरिएको हो ।
सूचनामा उल्लेख भएअनुसार प्रशासन सेवा, सामान्य प्रशासन समूह अन्तर्गत ५/६ औँ तहका वरिष्ठ सहायक वा अधिकृत स्तरका १० पद रिक्त रहेका छन् ।
उक्त पदमा सेवा, समूह र पद मिल्ने कर्मचारीहरूले अन्तर-स्थानीय तह सरुवा भई आउन सक्ने व्यवस्था गरिएको छ ।
मधेश प्रदेशको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा २५ को उपदफा (१) बमोजिम सरुवा प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
उपमहानगरपालिकाले इच्छुक कर्मचारीलाई आवश्यक कागजातसहित समयमै निवेदन पेश गर्न अनुरोध गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको जनाएको छ ।


