महोत्तरी, ६ चैत । प्रधानमन्त्री शुशीला कार्कीले महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाईगौशालाको स्थलगत निरीक्षण गरेकी छन् ।

अन्तरिम सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक महोत्तरी पुगेकी प्रधानमन्त्री कार्कीले गाईवस्तुको अवस्था बुझ्दै संरक्षणमा जोड दिएकी हुन् ।

विगत केही समयदेखि निगौल गाईगौशालामा रहेका गाईवस्तुको दुरावस्थाबारे स्थानीय तह तथा सरोकारवालाबाट निरन्तर आवाज उठ्दै आएको थियो ।

सोही सन्दर्भमा गरिएको निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले जीवजन्तुको संरक्षणलाई राज्यको प्राथमिक दायित्वका रूपमा लिनुपर्ने बताइन् ।

उनले गाईलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले मात्र नभई आर्थिक रूपमा समेत उपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्दै गाईपालनलाई रोजगारीसँग जोड्न सकिने धारणा राखिन् ।

‘हाम्रो समाजमा गाईलाई आमासरह सम्मान गर्ने परम्परा छ, त्यसैले यसको संरक्षणमा कुनै पनि किसिमको लापरवाही हुनुहुँदैन,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले गाईगौशालालाई उद्योगका रूपमा विकास गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने सम्भावनातर्फ संकेत गर्दै सम्बन्धित निकायलाई आवश्यक पहल गर्न निर्देशन दिइन् ।

उनले महोत्तरी-१ का प्रतिनिधि सभा सदस्य प्रमोद महतोलाई गाईगौशालाका समस्या समाधानका लागि सक्रिय भूमिका खेल्न आग्रह गरिन् ।

स्थानीय बासिन्दाले गाईगौशालाको व्यवस्थापन सुधार, पर्याप्त आहार र पूर्वाधार अभाव समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

निरीक्षणपछि यस क्षेत्रको समस्या समाधानतर्फ ठोस पहल हुने विश्वास गरिएको छ ।