जनकपुरधाम, ६ चैत । प्रधानमन्त्री सुशिला कार्की शुक्रबार जनकपुरधाम पुगेर जानकी मन्दिरमा पूजा अर्चना गरेकी छन् ।

आन्तरिक सरकारको नेतृत्व सम्हालेपछि उनको जनकपुरधाममा यो पहिलो भ्रमण हो ।

प्रधानमन्त्री कार्की जनकपुरधाम विमानस्थलबाट सिधै जानकी मन्दिर पुगेकी थिइन् । मन्दिरमा विधिपूर्वक पूजा अर्चना सम्पन्न गरेपछि उनले मन्दिरका महन्थ तथा पूजारीहरूसँग भेटघाट समेत गरिन् ।

पूजा पश्चात सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनकपुरधामको भ्रमण अत्यन्तै सुखद रहेको बताइन् । साथै, आफू राजनीतिक उद्देश्यभन्दा बाहिर रहेर धार्मिक प्रयोजनका लागि मात्र यहाँ आएको स्पष्ट पारिन् ।

प्रधानमन्त्री कार्कीको जनकपुरधाम भ्रमणपछि महोत्तरी जाने कार्यक्रम रहेको छ । त्यहाँ पुगेर उनले गौशालास्थित निगौल गाई गौशालाको निरीक्षण गर्ने कार्यतालिका रहेको जनाइएको छ ।