जनकपुरधाम, ५ चैत । नापी कार्यालय धनुषाले सेवाप्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन टाइमकार्डसहितको टोकन प्रणाली लागू गरेको छ ।

कार्यालयले चैत ४ गतेदेखि नयाँ प्रणालीमार्फत सेवा प्रदान गर्न सुरु गरेको जनाएको छ ।

कार्यालयका अनुसार अब सेवाग्राहीहरूले कार्यालयमा उपस्थित भएपछि टोकन प्राप्त गर्नेछन् र सोही आधारमा सेवा दिने समय निर्धारण गरिनेछ । पहिलो पटक निवेदन दर्ता गरेपछि दोस्रो भिजिटमा तोकिएको समयअनुसार सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले नयाँ प्रणालीले सेवाग्राहीको भीड व्यवस्थापन र समयको बचतमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

‘पहिले सेवाग्राहीहरू लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता थियो । अब टोकन र टाइमकार्ड प्रणाली लागू भएपछि निश्चित समयमा सेवा लिन सक्ने व्यवस्था गरिएको छ,’ उनले भने ।

उनका अनुसार यस प्रणालीले अनावश्यक भीड घटाउने, पारदर्शिता बढाउने र कर्मचारी एवम् सेवाग्राहीबीचको समन्वय सुधार गर्ने विश्वास गरिएको छ । ‘हामीले सेवाप्रवाहलाई थप सहज, छिटो र व्यवस्थित बनाउन यो प्रणाली लागू गरेका हौं,’ प्रमुख कुमारले थपे ।

कार्यालयले सेवाग्राहीहरूलाई तोकिएको समयअनुसार उपस्थित हुन र आवश्यक कागजातसहित आउन समेत अनुरोध गरेको छ ।यसले सेवा वितरण प्रक्रियालाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीहरूबाट सकारात्मक प्रतिक्रिया आउन थालेको कार्यालयले जनाएको छ । लामो समयदेखि सेवा लिन प्रतीक्षा गर्नुपर्ने समस्या समाधान हुने अपेक्षासहित स्थानीयहरूले यस कदमलाई स्वागत गरेका छन् ।