जनकपुरधाम, ५ चैत । जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको बैठक बिहीबार जनकपुरधाममा सम्पन्न भएको छ ।

पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा सम्पन्न बैठकमा प्रदेशको समसामयिक राजनीतिक अवस्था, विकासका चुनौती तथा आगामी रणनीतिबारे व्यापक छलफल गरिएको जनाइएको छ ।

बैठकमा विशेषगरी मधेश प्रदेशको विकास निर्माण कार्यको अवस्था, बजेट कार्यान्वयनको प्रभावकारिता, सेवा प्रवाहमा देखिएका समस्या तथा जनताको अपेक्षाअनुसार काम हुन नसकेको विषयमा पार्टीका सांसदहरूले धारणा राखेका थिए ।

संसदीय दलको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनको समीक्षा समेत गरिएको थियो । केही सांसदहरूले योजना छनोट र बजेट विनियोजनमा पारदर्शिता अभाव रहेको गुनासो गर्दै प्रभावकारी अनुगमन प्रणालीको आवश्यकता औंल्याएका थिए ।

बैठकमा पार्टीको आगामी रणनीति, संसदमा खेल्ने भूमिका तथा जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा समेत निर्णय गरिएको स्रोतले जनाएको छ । साथै, संगठन सुदृढीकरण र कार्यकर्ता परिचालनलाई प्रभावकारी बनाउने दिशामा पनि छलफल केन्द्रित भएको थियो ।

पार्टी नेतृत्वले प्रदेशसभामा जनताको मुद्दा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पारेको छ ।