जनकपुरधाम, ५ चैत । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र अभियुक्त बेचन झाको थुनामुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ बिहीबार स्थगित भएको छ ।

उच्च अदालत पाटनमा न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिए पनि रायमाझीका कानुन व्यवसायीले निवेदन दिएर स्थगन गराएपछि मुद्दा अघि बढ्न सकेन । रायमाझीसँग सम्बन्धित मुद्दा स्थगित भएसँगै लगाउको रूपमा रहेको बेचन झाको मुद्दा पनि स्वतः स्थगित भएको हो ।

रायमाझी र झाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ (२) अनुसार थुनामुक्त हुन माग गर्दै उच्च अदालतमा निवेदन दिएका हुन् । यसअघि जिल्ला अदालत काठमाडौंले उनीहरूको निवेदन अस्वीकार गरेपछि पुनरावलोकनका लागि उच्च अदालत पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो । त्यसपछि उनले पुस २५ गते उच्च अदालत पाटनमा निवेदन दायर गरेका थिए । यस्तै, बेचन झाले पनि जिल्ला अदालतले माग अस्वीकार गरेपछि पुस ११ गते उच्च अदालतमा निवेदन दिएका थिए ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ (२) मा थुनामा रहेका अभियुक्त निर्दोष देखिन सक्ने आधार भेटिएमा अदालतले जुनसुकै अवस्थामा पनि सुनुवाइ गरी थुनाबाट मुक्त गर्न सक्ने व्यवस्था रहेको छ । यही कानुनी प्रावधानलाई टेकेर दुवैले थुनामुक्तिको माग गरेका हुन् ।

यसअघि २०८० असार १ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त प्रकरणमा उच्च तहका राजनीतिक व्यक्तित्व, सरकारी कर्मचारी तथा बिचौलियाहरू संलग्न रहेको आरोप छ ।

यो प्रकरणलाई पछिल्लो समय देशकै बहुचर्चित ठगी काण्डका रूपमा हेरिएको छ । यसमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन दिई ठूलो रकम असुलिएको आरोप छ ।

हाल उच्च अदालतमा विचाराधीन रहेको थुनामुक्तिसम्बन्धी निवेदनमा सुनुवाइ कहिले हुने भन्ने टुंगो लाग्न बाँकी छ । अदालतको आगामी निर्णयले यस प्रकरणको कानुनी प्रक्रियामा महत्वपूर्ण मोड ल्याउने विश्वास गरिएको छ ।