जनकपुरधाम, ५ चैत । मुआब्जा वितरणमा ढिलाइ भएपछि पूर्वपश्चिम रेल्वे आयोजनाअन्तर्गत बर्दिबास–भङ्गहा खण्डको निर्माण कार्य ठप्प भएको छ ।

बर्दिबास नगरपालिका क्षेत्रका १४ जना प्रभावित स्थानीयले मुआब्जा नपाएको भन्दै निर्माण कार्य अवरुद्ध गरेका हुन् ।

भारत सरकारको सहयोगमा जयनगरदेखि महोत्तरीको भङ्गाहा नगरपालिकासम्म रेल सेवा सञ्चालनमा आइसके पनि भङ्गहादेखि बर्दिबाससम्मको विस्तार कार्य भने मुआब्जा विवादका कारण अघि बढ्न सकेको छैन । आयोजनाको यो खण्ड रणनीतिक रूपमा महत्त्वपूर्ण मानिए पनि स्थानीयको असन्तुष्टिले काम रोकिएको हो ।

रेल विभागका अनुसार प्रभावित १४ जनालाई करिब ७ देखि ८ करोड रुपैयाँ मुआब्जा दिन बाँकी छ । उक्त रकम निकासका लागि विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरिसकेको जनाएको छ । तर, बजेट अभाव र प्रक्रियागत ढिलाइका कारण भुक्तानी हुन नसकेको बताइएको छ ।

स्थानीय पीडितहरूले भने लामो समयदेखि मुआब्जाका लागि पहल गर्दै आए पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको गुनासो गरेका छन् । ‘हामीले पटक पटक कार्यालय धायौँ, ध्यानाकर्षण गरायौँ । तर, कसैले सुनेन,’ एक प्रभावितले भने, ‘अन्ततः बाध्य भएर काम रोक्नुपर्याे ।’

यसअघि पनि पीडितहरूले पटकपटक चेतावनी दिँदै आएका थिए । तर, समयमै सम्बोधन नभएपछि उनीहरूले निर्माणस्थलमै पुगेर काम अवरुद्ध गरेका हुन् । स्थानीयको अवरोधका कारण अहिले उक्त खण्डमा निर्माण पूर्ण रूपमा रोकिएको छ ।

रेल विभागले समस्या समाधानका लागि पहल भइरहेको दाबी गरे पनि प्रभावितहरू तत्काल मुआब्जा नपाएसम्म काम अघि बढ्न नदिने अडानमा छन् । यसले आयोजनाको समयसीमा थप लम्बिने र लागत बढ्ने सम्भावना देखिएको छ ।

पूर्व–पश्चिम रेल्वे आयोजना देशको दीर्घकालीन यातायात पूर्वाधार विकाससँग जोडिएको महत्वाकांक्षी परियोजना हो । तर, मुआब्जा वितरणमा देखिएको समस्या समयमै समाधान हुन नसक्दा आयोजनाको विश्वसनीयता र कार्यान्वयन क्षमतामाथि समेत प्रश्न उठ्न थालेको छ ।

सरकारले स्थानीयको माग सम्बोधन गर्दै शीघ्र समाधान निकालेन भने अन्य क्षेत्रमा समेत यस्तै समस्या दोहोरिन सक्ने सरोकारवालाहरूको चिन्ता छ ।