रौतहट, ५ चैत । रौतहट जिल्लाको सदरमुकाम गौरमा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।

करदाता सेवा कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच जिल्ला स्तरको उक्त कार्यालय स्थापना गरिएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत सञ्चालन हुने यस कार्यक्रममार्फत जिल्लाभरका आर्थिक गतिविधिको यथार्थ तथ्याङ्क सङ्कलन गर्ने लक्ष्य लिइएको छ । कार्यालय स्थापनासँगै उद्योग, व्यापार, सेवा क्षेत्र तथा रोजगारीसँग सम्बन्धित विस्तृत विवरण संकलन गरिने जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आर्थिक गणनाले जिल्लाको समग्र आर्थिक अवस्थालाई स्पष्ट पार्ने बताए । उनका अनुसार सङ्कलित तथ्याङ्कले दीर्घकालीन विकास योजना निर्माण तथा नीति तर्जुमामा महत्वपूर्ण आधार प्रदान गर्नेछ ।

त्यसैगरी, तथ्याङ्क अधिकृत सुमन्त यादवले गणना कार्यका लागि आवश्यक जनशक्ति व्यवस्थापन, तालिम तथा घरदैलोमार्फत तथ्याङ्क सङ्कलन प्रक्रिया चाँडै सुरु गरिने जानकारी दिए ।

उद्घाटन कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दास, जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखा प्रमुख रामनरेश साह, लेखापाल ब्रजकिशोर साह, उमेश यादव लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

आर्थिक गणनाबाट प्राप्त तथ्याङ्कले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म नीति निर्माण, विकास योजना तथा लगानी प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।