सर्लाही, ५ चैत । सर्लाहीको बागमती नगरपालिका–२ सानो डाबरीस्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

बिहीबार बिहान करिब ९ बजे जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले स्थानीय श्याम गोलेका करिब २ वर्षीय छोरा यनस गोलेलाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी ढुङ्ग्रेखोला र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले बस र चालक हरिवन नगरपालिका–११ प्रगति टोल बस्ने करिब ५० वर्षीय सुर्य बहादुर थापालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।

घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।