बन्द सटरअगाडि युवक मृत फेला

जनकपुरधाम, ५ चैत । जनकपुरधामको विश्वकर्मा चौकमा एक अपरिचित व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
जनकपुरधाम-४ विश्वकर्मा चौकको एक बन्द सटरअगाडि लडेको अवस्थामा भेटिएका ती व्यक्तिको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ ।
स्थानीयले बिहानै सडक किनारमा ती व्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान थालेको छ ।
मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।

