जनकपुरधाम, ४ चैत । जनकपुरधामका सामाजिक क्षेत्रमा सक्रिय दुई अग्रणी जातीय संस्था मारवाडी सेवा समिति र रौनियार सेवा समितिभित्र आन्तरिक विवाद चर्किँदै गएको छ ।

लामो समयदेखि साधारण सभा नबोलाइएका, आय–व्यय सार्वजनिक नगरिएका र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै जाँदा यी संस्थाहरूको साखसमेत जोखिममा परेको देखिन्छ ।

मारवाडी सेवा समितिमा अध्यक्ष निर्मल चौधरीको कार्यकालमा तीन वर्षसम्म पनि साधारण सभा हुन नसकेको आरोप छ ।

संस्थाको विधानअनुसार यस अवधिमा कम्तीमा दुईपटक साधारण सभा हुनुपर्ने व्यवस्था रहेको बताइन्छ । स्रोतका अनुसार आय–व्ययको लेखा परीक्षण र हिसाब पारदर्शी रूपमा सार्वजनिक नगरेको भन्दै संस्थाभित्र आर्थिक अनियमितताको आशंका बढेको छ ।

नाम नखुलाउने शर्तमा केही युवाहरूले अध्यक्ष चौधरीकै कारण सम्पूर्ण कार्यसमिति निष्क्रिय र अयोग्य जस्तै बनेको आरोप लगाएका छन् ।

समितिको परिसरभित्र रहेको श्याम बाबा मन्दिरमा आगलागी भएपछि पुनर्निर्माणका क्रममा पनि आर्थिक अपारदर्शिता भएको उनीहरूको दाबी छ ।

यस विषयमा अध्यक्ष चौधरीले आफ्नो कार्यकाल सकिएपछि तीन महिना अगाडि नै राजीनामा दिइसकेको बताएका छन् । उनले आफूमाथि लगाइएका आर्थिक अनियमितताका आरोपहरू प्रमाणित नभएसम्म स्वीकार्य नहुने र आधारहीन आरोपले चरित्रहत्या गर्न नहुने स्पष्ट पारे ।

यता, रौनियार सेवा समितिमा पनि यस्तै प्रकृतिको असन्तुष्टि देखिएको छ ।

संस्थाका पुराना सदस्य र संस्थापकहरूले बारम्बार साधारण सभा बोलाउन तथा आय–व्यय सार्वजनिक गर्न माग गर्दै आएका छन् । तर, नेतृत्व पक्षले त्यसतर्फ आवश्यक चासो नदिएको आरोप छ ।

अध्यक्षले काठमाडौँ आवतजावत तथा अन्य गतिविधिमा ठूलो रकम खर्च गरेको भन्दै आन्तरिक असन्तुष्टि झन् बढेको बताइन्छ ।

दुवै संस्थाका विवाद जिल्ला प्रशासन कार्यालयदेखि अदालतसम्म पुगेको बताइए पनि समाधानतर्फ ठोस पहल हुन सकेको छैन ।

स्थानीय बुद्धिजीवीहरूका अनुसार संस्थाभित्र पारदर्शिता, सुशासन र आन्तरिक लोकतन्त्रको अभावले दीर्घकालीन असर पार्ने खतरा देखिएको छ ।

विशेषगरी चुनावी समयमा मात्र सक्रिय हुने र त्यसपछि आन्तरिक विवाद सतहमा आउने प्रवृत्तिले यस्ता जातीय संस्थाहरूको विश्वसनीयता माथि गम्भीर प्रश्न उठाएको छ ।