धनुषामा अन्तरजातीय विवाह गरेकी युवती मृत फेला

जनकपुरधाम, ४ चैत । धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेपछि घटनाले नयाँ मोड लिएको छ ।
मृतकका माइती पक्षले हत्या भएको आरोप लगाउँदै कडा कारबाहीको माग गरेका छन् भने प्रहरीले प्रारम्भिक रूपमा आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४ बस्ने मुकेश धनखोटी यादवकी २५ वर्षीया श्रीमती विभाकुमारी महतो मंगलबार दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । स्थानीयका अनुसार घटनापछि घरपरिवारमा त्रास र शोकको वातावरण छाएको छ ।
प्राप्त जानकारीअनुसार मुकेश र विभाले करिब पाँच वर्षअघि अन्तरजातीय प्रेम विवाह गरेका थिए । शुरुवाती चरणमा सामान्य रहेको वैवाहिक सम्बन्ध पछिल्लो समय तनावपूर्ण बन्दै गएको माइती पक्षको दाबी छ ।
मृतकका दाजु मनिषकुमार महतोले बहिनीमाथि लामो समयदेखि शारीरिक तथा मानसिक यातना दिइँदै आएको आरोप लगाएका छन् ।
‘विवाह भएको यतिका वर्ष बित्दा पनि सन्तान नभएको विषयलाई लिएर उनलाई पटक पटक दुव्र्यवहार गरिन्थ्यो,’ उनले भने । उनका अनुसार विभाको शरीरमा नीलडाम (चोटका दाग) समेत देखिएको छ । यसले घटनाप्रति थप आशंका उत्पन्न गरेको छ ।
माइती पक्षले यस घटनालाई आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेको छ । उनीहरूले दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।
यता, मृतकका दाजु मनिषले जिल्ला प्रहरी कार्यालय धनुषामा विभाका पति मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा प्रहरीले मुकेशलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।
‘माइती पक्षको जाहेरीका आधारमा मृतकका पति मुकेशलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ,’ उनले जानकारी दिए । उनले पोस्टमार्टम रिपोर्ट र अन्य प्रमाणका आधारमा घटनाको वास्तविकता बाहिर आउने पनि बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


