जनकपुरधाम, ४ चैत । मिथिलाका सुप्रसिद्ध गीतकार, संगीतकार, पूर्वखेलाडी तथा पत्रकार अशोक दत्त पछिल्लो करिब ६ महिनादेखि आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षण र उपचारबाट वञ्चित रहँदै आएका छन् ।

सांगीतिक र सञ्चार क्षेत्रमा लामो समय योगदान दिएका दत्त अहिले जीवन रक्षाकै लागि सहयोगको पर्खाइमा छन् ।

दत्त विगत करिव साढे २ वर्षदेखि क्यान्सर रोगबाट पीडित छन् । चिकित्सकले नियमित रूपमा ‘फलोअप’ (नियमित जाँच) र औषधोपचार गर्न सुझाए पनि आर्थिक अभावका कारण उनी आवश्यक उपचार गराउन असमर्थ भएका छन् । यसले उनको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको छ ।

स्वयं दत्तले आफ्नो अवस्थाबारे दुखेसो व्यक्त गर्दै भने, ‘जीवनभर गीत संगीत र पत्रकारितामार्फत समाजलाई केही दिने प्रयास गरेँ । तर, आज आफ्नै उपचारका लागि हात फैलाउनुपर्ने अवस्था आएको छ । नियमित जाँच र औषधि बिना शरीर दिनदिनै कमजोर बन्दै गएको महसुस भइरहेको छ ।’

उनका अनुसार चिकित्सकले नियमित फलोअप नगराए अवस्था गम्भीर बन्न सक्ने चेतावनी दिएका छन् । ‘सामान्य चेकजाँच गर्नसमेत आर्थिक समस्या छ, औषधि किन्न त झन् गाह्रो भइरहेको छ,’ उनले भने ।

मिथिलाका सांस्कृतिक अभियन्ता, कलाकार तथा पत्रकारहरूले दत्तको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सहयोगका लागि आह्वान गर्न थालेका छन् । उनीहरूले दत्तले गीत संगीतमार्फत मिथिलाको भाषा, संस्कृति र पहिचान प्रवद्र्धनमा पुर्याएको योगदान स्मरण गर्दै यस्तो अवस्थामा समाजले साथ दिनुपर्ने बताएका छन् ।

कलाकार रितेश पाटलीले भने, ‘अशोक दत्त एक व्यक्ति मात्र होइनन्, उहाँ मिथिलाको सांगीतिक पहिचानका प्रतिनिधि पात्र हुनुहुन्छ । आज उहाँ समस्यामा हुनुहुन्छ भने यो सम्पूर्ण समाजकै जिम्मेवारी हो ।’

परिवारजनले प्रदेश सरकार तथा सम्बन्धित निकायसँग समेत दत्तको उपचारमा सहयोग गर्न आग्रह गरेका छन् । उनीहरूका अनुसार स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले यस्तो अवस्थामा राज्यले पनि जिम्मेवारी लिनुपर्ने हुन्छ ।

दत्तको बिग्रँदो स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सकहरूले तत्काल नियमित परीक्षण, औषधि र आवश्यक उपचार सुरु गर्नुपर्ने बताएका छन् । अन्यथा, अवस्था थप जटिल बन्न सक्ने चेतावनी दिइएको छ ।

जीवनभर कला र शब्दमार्फत समाजलाई योगदान दिएका दत्त आज आफ्नै जीवन रक्षाका लागि संघर्षरत छन् । उनको उपचारका लागि समयमै सहयोग जुट्न सके मात्र उनको जीवन बचाउन सकिने अवस्था देखिएको छ ।