जनकपुरधाम, ४ चैत । महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य उज्ज्वल कुमार झाले आफ्नो अनौठो पहिचानका कारण राष्ट्रियस्तरमै चर्चा बटुल्न थालेका छन् ।

करिब डेढ फिट लामो टुप्पी (टिकी) राख्ने उनको शैली अहिले राजनीतिक वृत्तमा मात्र नभई सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत चासोको विषय बनेको छ ।

शुरुवाती दिनमा उनको टुप्पीलाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि समयसँगै यही विशेषता उनको छुट्टै पहिचानका रूपमा स्थापित भएको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंमा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेपछि झाको टुप्पीले झन् बढी ध्यान खिचेको देखिएको हो ।

कार्यक्रम स्थलमा उनी गाडीबाट झर्ने बित्तिकै सञ्चारकर्मीहरूको क्यामेरा उनको टुप्पीतर्फ केन्द्रित भएको थियो । त्यसयता उनको तस्बिर विभिन्न अनलाइन सञ्चारमाध्यममा आकर्षक सामग्रीका रूपमा प्रकाशित भइरहेका छन् । अहिले धेरैले उनलाई नामभन्दा पनि ‘टुप्पी सांसद’ भनेर चिन्ने अवस्था बनेको छ ।

झाले शौखका रूपमा टुप्पी पालेका हुन् । निर्वाचन अभियानका क्रममा घरदैलोमा जाँदा पनि उनको टुप्पी मतदाताका लागि नौलो र चासोको विषय बनेको थियो । त्यसले उनलाई भीडमा अलग देखिन सहयोग गरेको थियो ।

पञ्चायतकालमा महोत्तरीमा कुलानन्द झा हातमा बोक्ने लठी (वेतको लौरो) का कारण चिनिन्थे । अहिले उनका नाति उज्ज्वल कुमार झा भने टुप्पीकै कारण फरक पहिचान बनाउन सफल भएका छन् ।

निर्वाचनमा निकटतम प्रतिस्पर्धीभन्दा झण्डै तेब्बर मत ल्याएर विजयी भएका झाले अहिले काठमाडौंमा पनि आफ्नो फरक शैलीमार्फत सबैको ध्यान खिच्दै छुट्टै छाप छोड्न सफल भएका छन् ।