धनुषामा ३२ हजारभन्दा बढी ग्यास सिलिन्डर आपूर्ति, अनावश्यक स्टक नराख्न प्रशासनको आग्रह

जनकपुरधाम, ४ चैत । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा ग्यास आपूर्ति नियमित भइरहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास स्टक नराख्न आग्रह गरेको छ ।
प्रशासनका अनुसार धनुषास्थित नोबेल ग्याँस कम्पनीबाट फागुन २९ गतेदेखि चैत २ गतेसम्म २५ हजार ९५० आधा सिलिन्डर ग्यास बजारमा आपूर्ति गरिएको छ ।
त्यस्तै, चैत ३ गते मात्रै थप ७ हजार सिलिन्डर आपूर्ति गरिएको जानकारी कम्पनीले प्रशासनलाई दिएको छ ।
यससँगै छोटो अवधिमा कुल ३२ हजार ९५० सिलिन्डर ग्यास बजारमा पुगेको प्रशासनले जनाएको छ ।
प्रशासनले बजारमा पर्याप्त ग्यास उपलब्ध रहेकाले उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ । साथै, डिलर तथा बिक्रेतालाई इमान्दारीपूर्वक ग्यास वितरण गर्न निर्देशन दिँदै कृत्रिम अभाव सिर्जना नगर्न सचेत गराएको छ ।
जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिइने पनि जनाएको छ ।

