माइकिङ गर्दै जनकपुरधामका फुटपाथ खाली गराइँदै

जनकपुरधाम, ४ चैत । जनकपुरधामका व्यस्त सडक किनारमा फैलिएका फुटपाथहरू खाली गराउने अभियान तीव्र पारिएको छ ।
गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको नेतृत्वमा नगरका विभिन्न क्षेत्रमा माइकिङ गर्दै फुटपाथ अतिक्रमण हटाउने काम सुरु गरिएको हो ।

मन्त्री महतो स्वयं सडकमा उत्रिएर सर्वसाधारणलाई सचेत गराउँदै फुटपाथ व्यवसायीहरूलाई वैकल्पिक व्यवस्था अपनाउन आग्रह गरिरहेका छन् ।
‘फुटपाथ पैदल यात्रुका लागि बनाइएको हो, यसलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्नु गलत हो,’मन्त्री महतोले भने,’हामी कसैको रोजगारी खोस्न खोजिरहेका छैनौं । तर, व्यवस्थित व्यापार आवश्यक छ ।’

उनले फुटपाथमा व्यापार गरिरहेका व्यवसायीहरूलाई रंगभूमी मैदानमा सर्न आग्रह गर्दै त्यहाँ व्यवस्थित रूपमा पसल सञ्चालन गर्न सकिने बताएका छन् ।
‘रंगभूमी मैदानमा सबैलाई स्थान उपलब्ध गराइन्छ । यसले गर्दा व्यापार पनि निरन्तर रहन्छ र शहर पनि व्यवस्थित हुन्छ,’ उनले थपे ।
अभियानमा स्थानीय प्रशासन, जनकपुरधाम उद्योग वाणिज्य संघ, प्रहरी प्रशासन तथा अन्य सरोकारवाला निकायहरूको सहभागिता रहेको छ ।
टोलीले बजार क्षेत्र, मुख्य सडक तथा चोकहरूमा पुगेर माइकिङमार्फत सूचना प्रवाह गर्दै तत्काल फुटपाथ खाली गर्न अनुरोध गरिरहेको छ ।

स्थानीय प्रशासनका अनुसार फुटपाथ अतिक्रमणका कारण ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै पैदल यात्रुहरू जोखिममा परिरहेका थिए ।
दुर्घटनाको सम्भावना बढ्नुका साथै शहरको सौन्दर्यमा समेत असर परेको भन्दै अभियान सुरु गरिएको जनाइएको छ ।
यद्यपि, फुटपाथ व्यवसायीहरू भने वैकल्पिक व्यवस्थामा अझ स्पष्टता र सुविधाको माग गरिरहेका छन् । केही व्यवसायीहरूले रंगभूमी मैदानमा ग्राहकको पहुँच कम हुने चिन्ता व्यक्त गरेका छन् भने केहीले दैनिक आम्दानी घट्ने डर देखाएका छन् ।
यस विषयमा मन्त्री महतोले व्यवसायीहरूको चिन्तालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै भने, ‘हामी सबै सरोकारवालासँग छलफल गरेर दीर्घकालीन समाधान निकाल्नेछौं । कसैलाई पनि अन्याय हुने छैन ।’
अभियानलाई दीर्घकालीन र प्रभावकारी बनाउन स्थानीय तहले समेत सहकार्य गर्ने जनाएको छ ।

सरोकारवालाहरूले यस कदमलाई शहर व्यवस्थापनको महत्वपूर्ण प्रयासका रूपमा लिएका छन् । यसले जनकपुरधामलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


