जनकपुरधाम, ३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आफ्नो कार्यकालको पहिलो १०० दिनमा ‘५१ महत्वपूर्ण काम’ सम्पन्न गरेको दाबी गरेका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिकूल परिस्थिति, राजनीतिक संक्रमण र प्रशासनिक अव्यवस्थाबीच पनि सरकार उपलब्धिमूलक ढंगले अघि बढेको बताएका हुन् ।

उनले पदभार सम्हाल्दा कार्यकक्षसमेत व्यवस्थित नरहेको, जेनजी आन्दोलनका कारण संरचना क्षतिग्रस्त भएको र मन्त्रीपरिषद् समेत पूर्ण नभएको अवस्थाबाट काम सुरु गर्नुपरेको उल्लेख गरे ।

‘मैले जिम्मेवारी सम्हाल्दा मुख्यमन्त्रीको कार्यकक्ष समेत थिएन । गृह मन्त्रालयको एउटा कोठाबाट काम सुरु गर्नुपर्‍यो । त्यस्तो चुनौतीपूर्ण अवस्थामा पनि हामीले नागरिकले महसुस गर्ने गरी काम गरेका छौं,’ मुख्यमन्त्री यादवले भने ।

स्वास्थ्य क्षेत्रमा सुधारको दाबी
मुख्यमन्त्री यादवले स्वास्थ्य सेवा सुधारलाई सरकारको प्रमुख उपलब्धि बताएका छन् ।

जनकपुर प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा सुधार गर्दै अनलाइन टिकट, बैंकिङ भुक्तानी र डिजिटल रिपोर्ट प्रणाली लागू गरिएको जानकारी दिए ।

‘अस्पतालमा लाइन बस्ने झन्झट हटाएका छौं । घरबाटै टिकट काट्न र मोबाइलमै रिपोर्ट हेर्न सकिने व्यवस्था गरेका छौं,’ उनले भने ।

उनका अनुसार लामो समयदेखि बन्द रहेको क्याथ ल्याब सञ्चालनमा आएको छ भने ४० बेडको डायलाइसिस सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । साथै, १० बेडको आईसीयूलाई २० बेडमा विस्तार गर्ने तयारी समेत पूरा भइसकेको छ ।

शिक्षा र कृषि क्षेत्रमा पहल
प्रत्येक निर्वाचन क्षेत्रमा एक नमूना विद्यालय विकास गर्ने योजना अन्तर्गत पहिलो चरणमा १५ विद्यालयमा काम सुरु भएको उनले बताए । प्रति विद्यालय कम्तीमा ५० लाख रुपैयाँ लगानी भइरहेको छ ।

‘सामुदायिक विद्यालयको स्तर सुधार नगरी गुणस्तरीय शिक्षा सम्भव छैन । त्यसैले नमूना विद्यालय कार्यक्रमलाई प्राथमिकतामा राखेका छौं,’ मुख्यमन्त्री यादवले बताए ।

कृषि क्षेत्रमा रोपाइँ अघि नै मलको व्यवस्थापन गर्ने, स्यालो ट्युबवेल विस्तार गर्ने र भूमिगत सिँचाइ व्यवस्थापनका लागि अध्ययन सुरु गरिएको उनले जानकारी दिए ।

पर्यटन र सांस्कृतिक पहिचान
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अगाडि बढाइएको उनले बताए । यसका लागि आवश्यक मापदण्ड निर्माण र समन्वय कार्य सुरु भइसकेको छ ।

‘जानकी मन्दिरलाई विश्वसामु चिनाउने लक्ष्यका साथ हामीले ठोस कदम चालेका छौं,’ उनले भने ।

पूर्वाधार र विकास निर्माण
‘एक निर्वाचन क्षेत्र एक सडक’ र ‘एक निर्वाचन क्षेत्र एक पुल’ कार्यक्रमलाई अघि बढाइएको भन्दै उनले डीपीआर र निर्माण एउटै निकायले गर्ने नीति लागू गरिएको बताए ।

रामजानकी रंगशालाका लागि आवश्यक बजेट व्यवस्थापनको पहल भइरहेको र जग्गा व्यवस्थापन प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिए ।

सामाजिक सुरक्षा र यातायात सुधार
प्रदेशका सबै नागरिकका लागि दुर्घटना बीमा, कम्बल वितरण तथा दमकल व्यवस्थापनजस्ता कार्यक्रम कार्यान्वयन गरिएको उनले बताए ।

यातायात क्षेत्रमा सवारी दर्ता डिजिटल बनाउने, लाइसेन्स प्रणाली सुधार गर्ने र ट्रायलमार्फत लाइसेन्स दिने व्यवस्था ल्याइएको उनले बताए ।

‘लाइसेन्समा हुने दलाली अन्त्य गर्न अटोमेटिक ट्रायल सिस्टम ल्याउँदैछौं,’ मुख्यमन्त्री यादवले स्पष्ट पारे ।

चुनौती र आगामी योजना
मुख्यमन्त्री यादवले १०० दिनलाई ‘नागरिक अपेक्षाको परीक्षा’ को रूपमा व्याख्या गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘यी १०० दिन अन्तिम लक्ष्य होइनन्, सुरुवात मात्र हुन् । अब नागरिकको आशा पूरा गर्ने जिम्मेवारी अझ ठूलो छ,’ उनले भने ।

उनले संघीय समन्वय, बजेट अभाव र संरचनात्मक कमजोरी अझै चुनौतीका रूपमा रहेको स्वीकार्दै ती समस्यालाई समाधान गर्दै अघि बढ्ने बताए ।

मुख्यमन्त्री यादवले १०० दिनको अवधिमा उपलब्धिमूलक काम भएको दाबी गरे पनि ती कार्यक्रमहरूको दीर्घकालीन प्रभाव र कार्यान्वयनको प्रभावकारिता आगामी दिनमा परीक्षण हुने देखिन्छ ।