कसको योजना, किन निर्माण?

जनकपुरधाम, ३ चैत । जनकपुरधाम उपमहानगरपालिका–२४ मा निर्माण गरिएका दुई वटा पुल उपयोगविहीन अवस्थामा छन् ।
बस्ती वा सडक जोड्नुपर्ने स्थानमा नभई बीच चौरमै पुल निर्माण गरिएपछि स्थानीयवासीले यसको औचित्यमाथि प्रश्न उठाएका छन् ।
स्थानीयका अनुसार ती संरचना न त कुनै खोल्सामाथि बनेका छन्, न त आवतजावत हुने बाटोसँगै जोडिएका छन् । यसका कारण सर्वसाधारणले पुल प्रयोग गर्ने अवस्था नै छैन ।
‘न यहाँ खोल्सा छ, न बाटो । पुल किन बनाइयो? भन्ने बुझ्नै सकिएन,’ एक स्थानीयले आक्रोश पोख्दै भने, ‘सरकारी बजेटको खुला दुरुपयोग भएको जस्तो लाग्छ ।’
उपमहानगरपालिकाले करिब लाखौं रुपैयाँ खर्च गरेर निर्माण गरेका यी पुलहरू कागजमा विकासको नमुना देखिए पनि व्यवहारमा भने ‘देखावटी संरचना’मा सीमित बनेका छन् ।
स्थानीयका अनुसार योजनाको छनोट गर्दा भौगोलिक अवस्था, जनआवश्यकता र दीर्घकालीन उपयोगिताको कुनै अध्ययन नै नगरिएको देखिन्छ ।
विकास निर्माणका नाममा यस्ता संरचना बन्नु स्रोतको दुरुपयोग मात्र नभई स्थानीय तहप्रतिको जनविश्वासमा पनि ठेस पुग्ने नागरिक अगुवाहरूको भनाइ छ ।
उनीहरूले यस्ता योजनाहरूमा प्राविधिक अध्ययन, सार्वजनिक परामर्श र पारदर्शिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायसँग तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

‘करदाताको पैसाले बनेका संरचना उपयोगमै नआउने हो भने यसको जिम्मेवारी कसले लिन्छ?’ एक स्थानीयले प्रश्न गरे ।
यता, जनकपुरधाम उपमहानगरपालिका तथा सम्बन्धित प्राविधिक निकायहरूले भने योजना छनोट र कार्यान्वयन प्रक्रियाबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् । यसले योजना निर्माणदेखि कार्यान्वयनसम्म कुनै न कुनै स्तरमा कमजोरी वा लापरवाही भएको हुनसक्ने थप आशंका जन्माएको छ ।
स्थानीय तहमा बजेट खर्चको दबाबका कारण कहिलेकाहीँ आवश्यकताको ठोस मूल्यांकन नगरी योजनाहरू अगाडि बढाइने प्रवृत्ति देखिन्छ । यस्तो अवस्थामा दीर्घकालीन उपयोगिता भन्दा ‘बजेट सक्ने’ मानसिकता हाबी हुँदा यस्ता उदाहरणहरू देखा पर्ने गर्छन् ।
सम्बन्धित निकायले समयमै छानबिन गरी सत्यतथ्य सार्वजनिक नगरे यस्ता योजनाविहीन संरचनाहरू थप दोहोरिन सक्ने स्थानीयको चिन्ता छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


