समानुपातिक सूचीमा दलितलाई उपेक्षा गरेको भन्दै रास्वपाविरुद्ध आन्दोलनको घोषणा

जनकपुरधाम, ३ चैत । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मधेश प्रदेशबाट समानुपातिकतर्फ उल्लेख्य मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दलित समुदायलाई प्रतिनिधित्व नदिएको भन्दै असन्तुष्टि चुलिएको छ ।
दलित अगुवाहरूले यसलाई समावेशीताको मर्मविपरीत कदम ठहर गर्दै आन्दोलन घोषणा गरेका छन् ।
जनकपुरधाममा बसेको दलित अगुवाहरूको बैठकले समानुपातिक प्रणालीमै दलित समुदायको पूर्ण उपेक्षा गरिएको आरोप लगाएको हो ।
वक्ताहरूले सबैभन्दा बढी मत प्राप्त गर्ने दलले नै समावेशी प्रतिनिधित्व सुनिश्चित नगर्नु लोकतान्त्रिक मूल्य र संविधानको भावनाविपरीत भएको बताए ।
बैठकका सहभागीहरूले दलित समुदायलाई सूचीमा स्थान नदिनु राजनीतिक त्रुटि मात्र नभई सामाजिक न्यायमाथिको प्रहार भएको टिप्पणी गरे ।
उनीहरूले तत्काल सूची सच्याउँदै दलित प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिँदै उनीहरूले विरोध सभा, ज्ञापनपत्र बुझाउने तथा सडक आन्दोलनसम्मका कार्यक्रम अघि बढाउने बताएका छन् ।
प्रथमलाल रामको अध्यक्षतामा बसेको बैठकले संघर्ष समिति गठन गर्दै आन्दोलनलाई सशक्त रूपमा अघि बढाउने निर्णय समेत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


