जनकपुरधाम, २ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र मधेशी प्रतिनिधित्व र आरक्षणको विषयलाई लिएर बहस सुरु भएको छ ।

पार्टीका एक नेता तथा मधेशमा सक्रिय अभियन्ता देवनारायण मण्डलले सार्वजनिक अभिव्यक्तिमार्फत रास्वपाले मधेश र मधेशवादप्रति देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै ‘ढाका टोपी देखाएर मात्रै मधेशी प्रतिनिधित्व पूरा हुँदैन’ भन्ने अभिव्यक्ति दिएका छन् ।

उनले आफूलाई लिएर सामाजिक सञ्जाल र विभिन्न समूहमा व्यक्त भइरहेको चिन्ताप्रति धन्यवाद व्यक्त गर्दै तत्काल सक्रिय राजनीतिमा पूर्ण समय दिन नसक्ने स्पष्ट पारेका छन् ।

‘मैले सुरुमा नै रास्वपाका लागि ३० प्रतिशत समय दिने सहमति गरेको थिएँ, अहिले पनि त्यही प्रतिबद्धता दोहोर्‍याउँछु,’ उनले भने, ‘म मधेश छोडेर काठमाडौं बस्न सक्दिन, त्यसैले यसलाई अन्यथा नलिनु होला ।’

उनका अनुसार आफूले आफ्नो जिम्मेवारीअनुसार भूमिका निर्वाह गरिसकेको र त्यसमा सन्तुष्ट रहेको बताएका छन् ।

तर, उनले रास्वपाले मधेश र मधेशी समुदायप्रति देखाएको व्यवहारबारे गम्भीर टिप्पणी गरेका छन् ।

उनका अनुसार मधेशका मतदाताले पहिचान र सम्मानको भावनाका आधारमा वैकल्पिक शक्तिलाई समर्थन गरेका हुन् ।

‘मधेशले मधेशी भएको हैसियतमा नै वालेनलाई मतदान गरेको हो,’ उनले भने, ‘जुन दिन मधेशीको यो भावनामा चोट पुग्छ, त्यो दिन फेरि अर्को सुनामी आउन सक्छ ।’

उनले लुम्बिनीदेखि झापासम्मका मधेशी बाहुल्य क्षेत्र घुमेर बुझेको अनुभव सुनाउँदै मधेशी समुदायमा प्रतिनिधित्व र सम्मानको प्रश्न अझै संवेदनशील रहेको बताए ।

आरक्षण र समानुपातिक प्रतिनिधित्वको सवालमा उनले रास्वपा मात्र नभई विगतदेखि नै मधेशी समुदायलाई राज्यका विभिन्न संरचनामा अल्पसंख्यक बनाइराख्ने प्रवृत्ति कायम रहेको आरोप लगाए ।

मण्डलका अनुसार समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउँदा नै पार्टीले मधेशी प्रतिनिधित्वबारे संवेदनशीलता देखाउनुपर्ने थियो ।

उनले व्यंग्यात्मक शैलीमा थपे, ‘जुन पार्टीमा प्रवक्ता मिडियासामु आउनुअघि रंगबिरंगी ढाका टोपी लगाउनु पर्ने आवश्यक ठानिन्छ, त्यहाँ मधेशी प्रतिनिधित्वको गम्भीर बहस हुने अपेक्षा गर्नु कठिन हुन्छ ।’

उनको भनाइमा मधेशको मुद्दा प्रतीकात्मक प्रदर्शनले मात्र समाधान हुने विषय होइन । ‘मधेशलाई आफ्नै हिस्सेदारी चाहिन्छ । यसमा ‘नो इफ, नो बट’ उनले जोड दिए ।

हालै समानुपातिक सूची र प्रतिनिधित्वका विषयमा उठेको बहसले रास्वपाभित्र मधेशी समुदायको सहभागिता र प्रतिनिधित्वबारे नयाँ प्रश्न खडा गरेको छ । मधेशी अधिकार र समावेशिताको विषय आगामी दिनमा थप तीव्र बहसको केन्द्र बन्न सक्ने देखिएको छ ।