जनकपुरधामका सरकारी कार्यालयहरूको लाजमर्दो अवस्थाः सेवाग्राही लाइनमा, कर्मचारी बेपत्ता

जनकपुरधाम, २ चैत । जनकपुरधामका विभिन्न सरकारी कार्यालयहरूमा कर्मचारी समयमै उपस्थित नहुने र सेवा प्रवाह सुस्त हुने गरेको भन्दै सेवाग्राहीहरूले गुनासो गरेका छन् । कार्यालय समय सुरु भइसकेपछि पनि कर्मचारीहरू कार्यकक्षमा नदेखिँदा सेवा लिन आउने सर्वसाधारण घण्टौँ कुर्न बाध्य हुने गरेका छन् ।
सोमबार बिहान करिब ११ बजे जनकपुरधामस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा पुग्दा अधिकांश कर्मचारीहरू कार्यालयमा उपस्थित नभएको दृश्य देखिएको थियो । केही कर्मचारीहरू मात्र कार्यकक्षमा देखिए पनि धेरै सेवाग्राहीहरू सेवा लिन प्रतीक्षामा बसिरहेका थिए ।
सेवाग्राहीहरूका अनुसार कार्यालय समयमै कर्मचारी उपस्थित नहुँदा दैनिक कामकाज प्रभावित हुने गरेको छ । ‘बिहानैदेखि कागज मिलाएर आएका छौं । तर, कर्मचारी नहुँदा काम अघि बढ्न सकेको छैन,’ एक सेवाग्राहीले गुनासो गरे । उनका अनुसार कतिपय कर्मचारी कार्यालयमा आए पनि सेवा प्रवाहभन्दा अन्य काममा व्यस्त देखिन्छन् ।

कार्यालयभित्रै केही कर्मचारीहरू कार्यकक्षमा बसेर खैनी, गुट्खा लगायतका पदार्थ सेवन गरिरहेको दृश्य पनि सामान्यजस्तै देखिने गरेको सेवाग्राहीहरूले बताएका छन् । यसले कार्यालयको अनुशासन र सेवा संस्कृतिमाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ ।
यसबाहेक कार्यालय परिसरमा बिचौलियाहरूको सक्रियता पनि खुलेआम देखिएको सेवाग्राहीहरू बताउँछन् । सेवाग्राहीहरूका अनुसार कागजी प्रक्रिया छिटो गराइदिने भन्दै बिचौलियाहरूले सेवाग्राहीसँग रकम माग्ने गरेका छन् । कतिपय सेवाग्राहीहरूले बिचौलियामार्फत काम गराउँदा मात्र प्रक्रिया छिटो हुने अनुभव सुनाएका छन् ।
‘हामी आफैं कागज बुझाउन जाँदा धेरै समय लाग्छ । तर, बिचौलियाले लगेपछि काम छिटो हुन्छ भन्ने सुनिन्छ,’ अर्का एक सेवाग्राहीले नाम उल्लेख नगर्ने सर्तमा बताए । उनका अनुसार यस्तो अवस्थाले सरकारी कार्यालयप्रतिको जनविश्वास कमजोर बनाएको छ ।
स्थानीयका अनुसार जनकपुरधामका धेरैजसो सरकारी कार्यालयहरूमा यस्तै समस्या देखिने गरेको छ । कार्यालय समयको पालना, सेवाग्राहीप्रति जिम्मेवारी र पारदर्शितामा कमजोरी हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको उनीहरूको भनाइ छ ।

सरोकारवालाहरूले सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्न, कर्मचारीलाई कार्यालय समयमै उपस्थित गराउन तथा बिचौलियाको चलखेल रोक्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने माग गरेका छन् ।
जनकपुरधामका सरकारी कार्यालयहरूमा सेवा प्रवाह प्रभावकारी बनाउन नियमित अनुगमन, कडाइका साथ अनुशासन पालन र सेवाग्राहीमैत्री वातावरण सिर्जना गर्न सम्बन्धित निकायले पहल नगरे समस्या अझ गम्भीर बन्ने स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


